८ कार्तिक २०८३, आइतबार

व्यवसाय सञ्चालन गर्न नदिइए आन्दोलनमा उत्रिने रात्रिकालीन व्यवसायीको चेतावनी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । रात्रीकालीन व्यवसायीहरूले एक हप्ताभित्र व्यवसाय सञ्चालन गर्न नदिए लाखौं व्यवसायीलाई सडकमा उतार्ने चेतावनी दिएका छन् ।

आज राजधानीमा पत्रकार सम्मेलन गर्दै व्यवासायीहरूले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रीकालीन व्यवसाय सञ्चालन गर्न नदिए एक लाख व्यवसायी र ३ लाख मजदूरसहित सडक संघर्षमा उत्रने चेतावनी दिएका हुन् ।

दरबारमार्ग व्यवसायी संघ (किङ्स लाउन्ज)का संयोजक कुमार गुरुङले स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न नदिए आफूहरू लाखौंको संख्यामा एकसाथ सडकमा उत्रने चेतावनी दिए । उनले भने, ‘वार्षिक ५ अर्बसम्म कर बुझाउने हाम्रो व्यवसाय बन्द हुँदा आत्महत्याको अवस्थामा पुगिसक्यौं । हाम्रा लागि सडकमा उत्रनुको विकल्प छैन ।’

गृह मन्त्रालय, पर्यटन मन्त्रालय तथा सम्बन्धित निकायमा पुगेर आफुहरूको पीडा सुनाए पनि सुनुवाई नभएको बताए । गुरुङले रात्रिकालिन पेशा व्यवसाय सबैभन्दा पहिला बन्द गर्ने र सबैभन्दा पछि खोलिने गरिएको भन्दै असन्तुष्टि पोखे ।

यस क्षेत्रमा काम गर्ने हजारौं बेरोजगार भई देशमा अर्को संकट आउने खतरा औल्याए । उनले भने, ‘सार्वजनिक स्थानमा हजारौको संख्यामा भेला हुँदा कोरोना नसर्ने तर राती ८ बजेपछि मात्र कोरोना सर्ने ?’ उनले प्रश्न गरे ।

अमेरिका जस्ता ठुलो देशमा पहिलो यही पेशा बन्द गरिए पनि पछिल्लो समयमा भने खुलाएको बताए । नेपालमा कुनै आधार नभई बन्द गरिएकोमा आफूहरूको आपत्ति रहेको सुनाए । उनले भने, ‘यो पेशाको आधारमा मात्रै कतिलाई कोरोना सर्यो र यो व्यवसाय बन्द गर्दा कति कोराना घट्यो ? त्यसको कुनै डाटा छैन् बिना आधार हाम्रो व्यवसाय बन्द गरिदैछ ।’ देशमा राज्य नभएको महशुश गरिरहेको बताए ।

कानुनी राज्य भएको देशमा सबै पेशा व्यवसायको सुरक्षित र व्यवस्थित हुनुपर्नेमा उनले जोड दिए । राज्यलाई आफुहरूको समस्याको समाधान गर्न उनले आग्रह गरे । सरकारले सञ्चालन गर्ने अनुमति दिएमा आफुहरूले आदेशको उल्लघंन नगरी रात्रिकालिन व्यवसायहरू संचालन गर्ने पनि बताए । धेरै जनता रोगले भन्दा पनि भोकले मर्ने अवस्थामा पुगेको उनको भनाइ छ ।

त्यस्तै रात्रिकालीन मनोरञ्जन व्यवसायका अध्यक्ष आशीष खड्काले सरकारले तत्काल व्यवसाय सञ्चालन गर्न नदिए सडकमा उत्रन वाध्य हुने चेतावनी दिए । ‘एक लाख व्यवसायीहरु र ३ लाख मजदुर एकसाथ सडकमा उत्रनेछौ, समयमै सरकारको चेत खुलोस्,’ उनले भने । आफ्ना समस्याहरु सुनाउन धेरै मन्त्रालयलमा पुगिसकेको भए पनि आश्वासन मात्रै आउने गरेको गरेको बताए ।

त्यस्तै, दोहोरी व्यवसायी संघका अध्यक्ष बिनोद श्रेष्ठले रात्रिकिालीन व्यवसाय बन्द हुँदा कामदाहरुले धमाधम आत्महत्या गरिरहेको गम्भीर कुरा सुनाए । आफूहरुका लागि अब संघर्षमा उत्रनुको विकल्प नभएको बताउँदै उनले भने, ‘कोरोना पहिलो र दोस्रो भेरियन्टको समयमा २ सय ५० जना भन्दा बढी कामदारले आत्महत्या गरिसके ।’ सरकारले विना अध्ययन नै यो व्यवसायलाई बन्द गराउँदा संचालक मात्र नभएर त्यहाँ कार्यरत श्रमिकहरुको समेत बिजोग भएको उनको भनाइ छ ।

यसैगरी, व्यवसायी केशरबहादुर बुढाथोकीले अन्य पेशा व्यवसाय भन्दा सबैभन्दा बढी मर्कामा पर्ने रात्रिकालीन व्यवसाय भएको बताए । यसरी पटक–पटक व्यवसाय बन्द गराइदा अरबौं नोक्शान भएको उनको भनाइ छ । युवाहरुलाई विदेश पलायन हुनबाट जोगाउन नेपालमै रोजगारी श्रृजना गरेको तर राज्यले आफूहरुलाई बर्बादीमा धकेलेको उनले बताएका छन् । ‘कर तिर्ने व्यवसायीको बर्बादी राज्यको बर्बादी हो,’ उनले भने ।