काठमाडौ । आगामी असार ३ र ४ गते पोखरामा हुने महाधिवेशनका लागि नेपाल प्रेस युनियनमा चुनावी चहलपहल बढेको छ ।
प्रजातन्त्रवादी पत्रकारहरूको संस्थाको रुपमा २०४८ जेठ १३ गते औपचारिकरुपमा स्थापना गरिएको प्रेस युनियनले आफ्ना विभिन्न सातवटा महाधिवेशन सम्पन्न गर्दै आठौंं महाधिवेशन सम्पन्न गर्ने अन्तिम तयारी गरेको छ ।
महाधिवेशनका लागि युनियनका शाखा रहेका ७३ जिल्लामध्ये ६० भन्दा बढी जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेका छन् भने विभिन्न सञ्चार प्रतिष्ठान शाखाहरूको पनि अधिवेशन सम्पन्न भइसकेको छ ।
यसअघि, पूर्वाञ्चलको इटहरीमा भएको सातौं महाधिवेशनमा देशभरबाट लगभग एक हजार ७०० प्रतिनिधि रहेकामा यस अधिवेशनमा भने ७०० जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने भएका छन् ।
युनियनका उपाध्यक्ष भीष्मराज ओझाका अनुसार इटहरी महाधिवेशनमा धेरै संख्यामा गैर पत्रकार सहभागी भएको भन्ने गुनासोसँगै त्यस महाधिवेशनबाट आएको नेतृत्वले देशभर सदस्यता शुद्धीकरण अभियान सञ्चालन गरेको थियो । उक्त अभियानले देशभर युनियनको सदस्यता शुद्धीकरण गरेका कारण यस पटक धेरै संख्यामा प्रतिनिधि घट्ने भएको हो ।
तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व हात पार्ने होडमा यतिखेर शिव लम्साल, बद्री सिग्देल, गंगाधर पराजुली, दामोदरप्रसाद दवाडी, सन्तोष न्यौपाने र विपुल पोखरेल रहेका छन् ।
इटहरीको महाधिवेशनमा निर्वाचन नभई पार्टीको पहलमा सर्वसम्मत नेतृत्व चयन गरिएको थियो । यस पटक भने प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्नुपर्नेमा नेतृत्वका आकांक्षीहरूले जोड दिँदै आएका छन् ।














प्रतिक्रिया