३ कार्तिक २०८३, मंगलबार

युक्रेनमा हमला गरे रुसी ग्यास पाइपलाइन सञ्चालन हुन नदिने अमेरिकी चेतावनी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाशिङ्टन, १४ माघ । संयुक्त राज्य अमेरिकाले मस्कोले युक्रेनमा आक्रमण गरे रुसी ग्यासलाई पश्चिम युरोप पठाउने एउटा प्रमुख पाइपलाइन खोल्ने निर्णय अवरुद्ध बनाइदिने जनाएको छ ।

नोर्ड स्ट्रिम टु रुसबाट जर्मनीसम्म निर्माण गर्ने प्रतिबद्धता जनाइएको पाइपलाइन हो । बिहीबार बर्लिनस्थित अधिकारीहरूले रुसले हमला गरे उक्त परियोजनामा प्रतिबन्ध लाग्न सक्ने धारणा राखेका थिए ।

पश्चिमा साझेदारहरूले आक्रमण भएको खण्डमा रुसको अर्थतन्त्रलाई आफूहरूले निशाना बनाउने बताएका छन् र पछिल्ला प्रतिक्रियाले आकर्षक पाइपलाइन परियोजनामा उनीहरूको अडान चर्को भइरहेको सङ्केत गर्छ ।

रुसले आफूले हमला गर्ने योजना बनाएको अस्वीकार गर्दै आएको छ । तर उसले युक्रेनको सीमामा दशौँ हजार रुसी फौज हालैका हप्तामा खटाएपछि तनाव चुलिएको छ र त्यसले आक्रमणको भय बढाएको छ ।

अमेरिकी प्रसारक एनपीआरसँग कुरा गर्दै अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता नोर्ड प्राइसले भने, ‘म एकदमै प्रस्ट भन्न चाहन्छुः यदि एउटा वा अर्को तरिकाले रुसले युक्रेनमाथि आक्रमण गर्‍यो भने, नोर्ड स्ट्रिम टु अघि बढ्ने छैन ।’

तर त्यसलाई कसरी रोकिने छ भनेर विस्तृतमा आफू नजाने उनले उल्लेख गरे । विदेशमन्त्रालयका प्रवक्ताले परियोजना अघि बढ्नबाट रोक्ने सुनिश्चित गर्न अमेरिकाले जर्मनीसँग मिलेर काम गर्ने पनि बताएका छन् ।