काडमाडौँ, ३ चैत । गत फागुन १० गते बसन्तपुरमा दुई छात्रामाथि तेजाब खन्याएको आरोप लागेका जीवन विकलाई आज काठमाडौँ अदालतले पुर्पक्षका लागि थुनुवाईमा राख्ने आदेश दिएको छ ।
काठमाडौँ अदालतका न्यायाधीश स्वीकृति पराजुलीको इजलासले विकलाई पुर्पक्षका लागि थुनामा पठाई कारबाही गर्ने आदेश दिएको अदालतका श्रेस्तेदार श्रीप्रसाद सञ्जेलले जानकारी दिनुभयो ।
विकका विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले गत चैत २९ गते ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो । रिटमा आरोपित विकलाई १२ वर्ष जेल सजाय हुनुपर्ने माग गरिएको थियो ।
मुलुकी ऐनमा ज्यानसम्बन्धी महलमा तेजाब आक्रमणबारे कुनै उल्लेख छैन । ज्यानसम्बन्धी महलमा १६ नम्बरमा ज्यान मारेको भए १० वर्षदेखि १५ वर्ष र नमरेको भए पाँचदेखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ ।
रामेछाप जिल्ला फुलासी गाविस घर भई टोखामा डेरा लिई बस्दै आएका २० वर्षीय जीवन विकलाई उनकै डेराबाट यही चैत ५ गते राति महानगरीय प्रहरी कार्यालयले पक्राउ गरेको थियो । विकले सङ्गीता थापा र सीमा बस्नेतलाई तेजाव खन्याएको आरोप छ ।















प्रतिक्रिया