
काठमाडौं, १३ माघ । मधेश प्रदेश सरकारले राष्ट्रियसभा निर्वाचनका लागि जनकपुर आएका जनप्रतिनिधिहरूको सवारीसाधनमा भएको तोडफोडको घटना छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको छ ।
घटनाको वास्तविक छानविन गरी सम्बन्धित जनप्रतिनिधि एवम् चिकित्सक समेतलाई क्षतिपूर्ति उपलब्ध गराउन र दोषीउपर कारबाही गर्न प्रदेश सरकारले तालुक निकायलाई निर्देशन दिएको हो ।
मधेश प्रदेश सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र प्रसाद शाहले घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका हुन् । उनले बुधबार भएको हिंसाजन्य घटनाप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको जनाउँदै लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास राखि अहिंसात्मक तवरबाट आफ्नो विचार एवम् अभिमत प्रकट गर्न जनमत पार्टी लगायत सम्वद्ध सबैमा प्रदेश सरकार आग्रह समेत गरेका छन् ।
घटनामा परी प्रदेशसभा सदस्य अशोक यादव, हरिवन नगरपालिकाका मेयर, उपमेयर, जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिश शाहलगायत व्यक्तिमाघि सांघातिक आक्रमण भएको प्रदेश सरकारले जनाएको छ ।















प्रतिक्रिया