
काठमाडौं, १२ माघ । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभातर्फ रिक्त हुने १९ पदका लागि सात वटै प्रदेशमा मतदान शुरू भएको छ ।
आज बिहान ९ बजेपछि मतदान शुरू भएको हो । प्रदेश १ मा विराटनगरमा प्रदेश निर्वाचन कार्यालय र वाली संरक्षण प्रयोगशालामा मतदान भइरहेको छ भने मधेस प्रदेशको लागि महेन्द्र नारायण निधि भवनमा मतदान जारी छ ।
यस्तै वागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लगी प्रदेश निर्वाचन कार्यालय पोखरामा पनि मतदान भइरहेको छ ।
यस्तै लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेश सभा भवन धनगढीमा मतदान जारी छ ।
निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि शुरू भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने छ । सम्भवतः मतदानको परिणाम समेत आजै आउने छ ।
कोरोना संक्रमणलाई दृष्टिगत गर्दै निर्वाचन आयोगले स्वास्थ्य सुरक्षाका मापदण्डसहित मतदानको व्यवस्था मिलाइसकेको जानकारी दिएको छ ।
निर्वाचनका लागि प्रदेश सभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी २ हजार २५ मतदाता छन् । निर्वाचनमा स्थानीय तहका १ हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहने छन् ।
प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुने छ । राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल गठबन्धन नै बनाएर उत्रिएका छन् ।















प्रतिक्रिया