८ कार्तिक २०८३, आइतबार

सरकारले अविलम्ब स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नुपर्छ : केसी

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष एवम् वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले सरकारले अविलम्ब स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् ।

स्थानीय तहको निर्वाचनबारे धेरै कन्फ्युजन हुन नहुने भन्दै उनले स्थानीय तहका पदाधिकारीको पदावधि सकिएपछि अर्डिनरी रूपमा लिनुपर्ने पनि बताएका छन् । स्थानीय तहको निर्वाचन पहिला र त्यसपछि प्रदेश र संघको गर्नुपर्ने उनको भनाइ छ ।

संविधानले स्थानीय जनप्रतिनिधिहरूको पदावधिक पाँच वर्षको भनेर तोकेकाले सरकारले विलम्ब नगरी स्थानीय तहको निर्वाचनको मिति सार्वजनिक गर्नुपर्ने उनको तर्क छ । ‘आवधिक चुनाव हुनुपर्छ । स्थानीय जनप्रतिनिधिहरूको समयावधि अब सकिँदैछ, निर्वाचन वैशाखमै गर्नुपर्छ,’ उनले भने, ‘नेपाल सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर मिति दिनुपर्छ । स्थानीय तह निर्वाचन ऐनअनुसार बैशाखभन्दा अगावै निर्वाचन हुनुपर्छ ।’ स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ ले पदावधि सकिनुभन्दा २ महिना अगावै त्यो निर्वाचन गरिसक्नुपर्ने उल्लेख गरेको केसीको भनाइ छ ।

त्यसकारण फागुनको मितिमा निर्वाचन हुनुपर्छ भनेर स्थानीय तह निर्वाचन ऐनले स्पष्ट भनेको दाबी उनको छ । ‘स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ मा निर्वाचनको मिति तोक्नेबारे स्प्ष्ट पारेको छ । एकैपटक हुन सकेन भने तहगत रूपमा गर्ने व्यवस्था गरेको छ,’ उनले भने, ‘नेपाल सरकार अब अल्झिन जरुरी छैन् । स्थानीय तह रिक्त राख्नुहुन्न । सरकारको पहिलो काम भनेको स्थानीय तहको निर्वाचन गराओस् । एक दिन पनि स्थानीय तहको सरकार खाली राख्नुहुँदैन् । आयोगसँग परामर्श गरेर निर्वाचन बैशाखसम्म निर्वाचन सम्पन्न गर्नुपर्छ ।’

तीनै तहको निर्वाचनको कुरा अहिले गर्न नहुने तर्क पनि उनको छ । एकैचोटी तीनै तहको निर्वाचबारे छलफल गर्दा द्विविधा उत्पन्न हुने उनको भनाइ छ । उनले तीनै तहको निर्वाचन एकै चरणमा गर्ने विषय झन्झटिलो रहेको भन्दै स्थानीय तहको सरकार बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

२०७९ निर्वाचनको वर्ष भएकाले सरकारले प्रक्रियागत रूपमा निर्वाचन गरेर जानुपर्ने उनको भनाइ छ ।