रबिना बोहरा
बागलुङ, ३ बैशाख । चारदिनदेखि अनशनरत नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य गोविन्द नेपालीले आजबाट अनसन तोड्नुभएको छ ।
६ दिनदेखि प्रहरी हिरासतमा रहेका नेकपा एमालेका कार्यकर्ताहरु रिहा भएपछि उनीहरुकै हातबाट जुस पिएर नेपालीले अनशन तोडनु भएको हो । अनशन तोडिसकेपछि आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै नेपालीले उपनिर्वाचनको क्रममा नेपाली काँग्रेसले शक्ति, सत्ता र स्रोत साधनको दुरुपयोग गरेको आरोप लगाउनुभएको छ ।
उहाँले आफ्नो आमरण अनशन प्रहरी प्रशासनको ज्यादतीविरुद्धमा भएको बताउनु भएको छ । कार्यकर्ताको रिहाइको माग गर्न प्रहरी र प्रशासनसँग छलफलमा बसिरहेको समयमा प्रहरी नायव निरीक्षकले आफ्ना कार्यकर्तामाथि सांघातिक आक्रमण गरेको उहाँले बताउनुभयो । दिउँसै खुकुरीले रेटिएकी रुपा गौतमको अपराधी पत्ता लगाउन नसक्ने प्रहरीले निर्दोष व्यक्तिलाई हिरासतमा राखेर बहादुरी देखाउन खोजेको भन्दै एक हप्ता भित्रमा रुपाको हत्यारालाई पक्राउ गरी सक्कली बहादुरी देखाउन चुनौती दिनुभएको छ ।
निर्वाचनको समयमा नेपाली काँग्रेसका कार्यकर्तालाई कुटेको आरोपमा प्रहरीले बानपा–१ रामरेखा मतदान केन्द्रबाट मतदान गर्दागर्दै पक्राउ परेका टकबहादुर बोहरा, कर्ण बोहरा, पप्पु बोहरा, कर्ण बोहरा र विदुर बोहरा धरौटीमा रिहा भएका हुन ।
जिल्ला प्रहरी कार्यालय अगाडि चैत्र ३० गतेबाट आमरण अनशन बस्नुभएका नेपालीकोे शरीरमा पानी, ग्लुकोजको मात्र कम भइसकेकाले थप उपचारको लागि बैशाख २ गते धौलागिरी अञ्चल अस्पताल बागलुङमा भर्ना गरिएको थियो । खाना तथा पानी नखाएका कारण नेपालीको रक्तचाप बढन गएको भएपनि अन्य स्वस्थ अवस्थामा सुधार आएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. तरुण पौडेलले बताउनु भएको छ ।
नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य मनकुमारी केसीले आफूले निर्वाचनमा विजय हासिल गर्न नसकेपनि जनताको घरदैलोमा पुगेर गरेका प्रतिबद्धता पूरा गर्ने बताउनुभयो ।
प्रहरी हिरासतबाट छुटेका टकबहादुर बोहराले आफूहरुमाथि नेपाली काँग्रेसले लगाएको आरोप निरर्थक रहेको भन्दै रामजी नेपालीले दलित बस्तीमा पैसा बाँडदै गर्दा आफूहरुलाई देखेर भाग्दा लडेर चोट लागेको दाबी गर्नुभयो । उहाँले प्रहरीले हिरासतमा रहेका सबै मतदान गर्ने अधिकारबाट बञ्चित नभएको भन्ने भनाइ झुटो भएको समेत बताउनु भएको छ । हिरासतमा रहेका पप्पु बोहरालाई प्रहरीले मतदान केन्द्रमा मत हाल्न लाइनमा बसेको अवस्थामा मत राख्न नदिइ लाइनबाटै पक्राउ गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रहरी र विभिन्न पार्टीका कार्यकर्ताबाट कुटिएका नेकपा एमालेका कार्यकर्तालाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शुभकामना दिइएको थियो ।

















प्रतिक्रिया