८ कार्तिक २०८३, आइतबार

चुनाव नजिक आउँदा किन बढ्यो प्रचण्ड छटपटी?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक छटपटी बढ्न थालेको छ। स्थानीयसँगै प्रदेश र संघीय सदनको चुनाव नजिकिँदा प्रचण्ड नयाँ नयाँ तुरुप फ्याँकिरहेका छन् जसका कारण सरकारले निर्वाचनको घोषणा गर्न सकेको छैन।

सत्ता गठबन्धनका केही दिनदेखिका बैठकमा प्रचण्डले फरक–फरक प्रस्ताव गरेका थिए। उनले तीनै तहको निर्वाचन एकै पटक गर्न प्रस्ताव गरेका थिए। केही दिनमा उनले संघीय संसदको चुनाव वैशाखमा गरी स्थानीय तहकोचाहिँ धकेल्न सकिने प्रस्ताव पनि गरेका थिए।

उनको प्रस्तावका कारणले नै सत्ता गठबन्धनले सरकारले चुनावी मिति घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय लिन सकेको छैन। यसपछाडिका कारण प्रचण्डलाई राजनीतिक शक्ति गुम्न सक्ने खतरा रहेको बताइन्छ।

चुनावी मैदानमा एक्लै जाँदा माओवादीको शक्ति अझ क्षीण हुने जानकारी पाएका कारण अनेक प्रकारका प्रस्ताव लिएर प्रचण्ड पुग्ने गरेको बताइन्छ। ‘बलियो शक्ति नेपाली कांग्रेस र एमाले बन्ने निश्चित हुँदा आफ्नो ताकत खुम्चिने त्रासले चुनाव धकेल्न प्रचण्ड संविधानविपरितका प्रस्ताव गर्न थाले’, उच्च स्रोतले भन्यो।

पहिला संघीय सदनको चुनाव गर्ने प्रस्तावमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रचण्डले सहमतिमा ल्याए पनि कांग्रेसभित्र प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई कन्भिन्स गर्न सकेका छैनन्। कांग्रेसभित्रको एउटा कित्ता संविधान मिचेर स्थानीय चुनावअघि संघीय चुनावमा जान नहुने पक्षमा बसेको छ।

‘संविधान मिचियो भनेर आन्दोलनमा गई सदन पुनःस्थापनाको खुसीयाली मनाउने अनि आफैं सदन विघटन गरेर संविधानको मर्म च्यात्ने काम गरिनुहुन्न’, कांग्रेस नेता भन्छन्,‘पहिला स्थानीय तहको निर्वाचन समयमा हुनुपर्छ, संविधानले निर्दिष्ट गरेको बाटो भत्काउन हुन्न।’