
काठमाडौं, ६ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का पोलिटब्युरो सदस्य आनन्द पाखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचनको डरबाट मुक्त हुन आग्रह गरेका छन् ।
यथाशक्य चाँडो स्थानीय तहको निर्वाचन गर्नेगरी तयारी गर्न सरकारलाई आग्रह गर्दै उनले निर्वाचनको मुखमा आएर नेपालमा निर्वाचन हुन्छ कि हुँदैन भनेर बहस र छलफल हुनु नै दुःखद् भएको बताएका छन् । संविधान र कानूनप्रति नै आशंका जन्माउने काम नगर्न सरकारलाई सचेत गराउँदै उनले देउवालालाई निर्वाचनबाट नडराउन आग्रह गरेका हुन् ।
राजधानीमा भएको एक साक्षातकार कार्यक्रममा हिजो बुधबार आफ्नो धारणा व्यक्त गर्दै नेता पोखरेलले संविधानले निर्दिष्ट गरेबमोजिम समयमै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । ‘ऐनले प्रष्ट व्याख्या गरेको छ, स्थानीय तहको निर्वाचन सम्पन्न गरेर जेठ ६ गतेभित्र नै स्थानीय तहका नयाँ प्रतिनिधिहरूलाई सत्ता हस्तान्तरण गर्नुपर्छ,’ उनले भने, ‘तर, सरकारले अहिले निर्वाचनको तयारी गरेको छैन, अहिले विभिन्न शंका तथा उपशंका अनि आशंका जन्मिएको छ, यो आशंका मेटाउनेगरी पाँच दलीय गठबन्धनले जवाफ दिनुपर्छ ।’
खासगरी सरकारको नेतृत्व गरिरहेकाले शेरबहादुर देउवाले जवाफ दिनुपर्ने उनको भनाइ छ । ‘म भन्न चाहन्छु तपाई किन निर्वाचनका लागि ढिलासुस्ती गर्दै हुनुन्छ,’ पोखरेलले देउवालाई प्रश्न गरे ।
पोखरेलले प्रधानमन्त्री देउवा चुनावको विपक्षमा नरहेको पनि बताएका छन् । ‘शेरबहादुर देउवा चुनावको विपक्षमा हुनुहुन्न । परमादेशको कारण सरकार बनेको छ । अरुको वैशाखी टेकेर सरकार बनेको कारणले होला, उहाँलाई समस्या छ,’ पोखरेलले भने ।
उनले आफ्नो पार्टी चुनावको पक्षमा रहेकाले तत्काल निर्वाचन गराउनेगरी वातावरण बनाउनका लागि सरकारलाई दबाब दिने पनि बताएका छन् । निर्वाचन आयोगले चुनावको मिति पनि तय गरिसकेको उल्लेख गर्दै त्यही मितिमा नै चुनाव गराउन उनले जोड दिएका छन् । संघीयता कार्यान्वयनका लागि स्थानीय तहलाई बलियो बनाउनुपर्ने र समयमै निर्वाचन हुनु झनै अपरिहार्य भएको पोख्रेलको भनाइ छ ।
उनले कांग्रेसलगायत पाँच दलीय गठबन्धनमा आवद्ध दलका नेताहरूले अझै पनि एमाले गाउँगाउँमा बलियो रहेको भनेर भनिरहेको उल्लेख गर्दै हार्ने डरले चुनाव नै नगर्ने कुरा गर्न नहुने टिप्पणी गरे । उनले एमाले राष्ट्रियताको लागि अनि संविधान कार्यान्वयनका लागि लडेको पार्टी भएको उल्लेख गर्दै भने, ‘एमाले जनताले रुचाएको लोकप्रिय पार्टी हो । सरकारले चुनाव नगर्ने छाँटकाँट देखाए नेकपा एमाले सडक संघर्षमा जान बाध्य हुन्छ ।’















प्रतिक्रिया