८ कार्तिक २०८३, आइतबार

पहिलो चरणमा ६३ जना महिलासहित ९९ जना श्रमिक इजरायल उडे

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भइ पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विदाइ गरेका छन् ।

निजी क्षेत्र तथा बिचौलीयारहित सरकार–सरकार (जिटूजी) प्रक्रियामार्फत पहिलोपटक इजरायल प्रस्थान गरेका श्रमिकको बिदाइका लागि मन्त्री श्रेष्ठसहित मन्त्रालयका उच्च कर्मचारी तथा नेपालका लागि इजरायलका राजदूत हनान गोदर विमानस्थल पुगेका थिए ।

पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरुलाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले नेपालको इज्जत रहने गरी अनुशासित भएर काम गर्न आग्रह गरे । उनले विगतमा पनि नेपालीहरू इजरायल रोजगारीमा पठाउन पटक–पटक प्रयास भए पनि आफ्नो कार्यकालमा सफलता प्राप्त भएकोमा खुशी व्यक्त गरे ।

६३ जना महिला र ३६ जना पुरुष गरी ९९ जना नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन् । इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा पहिलो चरणमा इजरायल प्रस्थानगरेका हुन् ।

यसपछि माघ १५ र १६ गतेका दिन दुई उडान हुने छ । वैदेशिक रोजगार विभागले गत कात्तिकमा पाँच सय र मङ्सिरमा ६७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो ।

छनोटमा परेका एक हजार १७५ मध्ये ८२१ महिला र तीन सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो ।

इजरायल जाने नेपालीले मासिक करिव २ लाख रुपियाँ पारिश्रमिक पाउनेछन् ।