
काठमाडौं, ६ माघ । इटालियन सिरी ‘ए’को शीर्षस्थानमा रहेको इन्टर मिलान कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अतिरिक्त समयमा सिरी ‘ए’ प्रतिद्धन्द्धी इम्पोलीको चुनौती पन्छाउँदै इन्टर मिलान क्वाटरफाइनल प्रवेश गरेको हो । बुधबार राति घरेलु मैदानमा भएको प्रतिस्पर्धामा इम्पोलीलाई ३–२ को गोल अन्तरले पराजित गर्दै इन्टरले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
इन्टरको जितमा एलेक्सिस सान्चेज, एन्ड्रिया रानोकचिया र स्टेफानो सेन्सीले गोल गरे । इम्पोलीका निदिम बजरामीले गोल गर्दा एक गोल उपहार पाएको थियो ।
मिलानोमा बुधबार राति भएको खेलेको १३औं मिनेटमा सान्चेजको गोलबाट इन्टरले पहिलो हाफमा १–० को अग्रत लिएको थियो । उनले डेन्जेल डेमफ्रेजको पासलाई सदुपयोग गरेका थिए । ६१औं मिनेटमा निदिमले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
७६औं मिनेटमा गोलरक्षक एन्डरेइ राडुले आत्मघाती गोल गरेपछि इन्टर खेलमा २–१ ले पछि पर्यो । तर, इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा एन्ड्रिया रानोकचियाले इडेन जेकोको पासमा गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्याए ।
अतिरिक्त समयको १०४औं मिनेटमा स्टेफानो सेन्सीले गोल गर्दै इन्टरलाई ३–२ ले अघि बढाए । उनले सान्चेजको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा इन्टर विजयी हुँदै अन्तिम आठको यात्रा तय गर्न सफल भयो ।
अर्को खेलमा सस्सुलोले क्याग्लिएरीलाई १–० ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको छ ।















प्रतिक्रिया