४ कार्तिक २०८३, बुधबार

नाचगान गरेर जुटाएको रकमबाट विद्यालय सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, ३ वैशाख । म्याग्दीको भौगोलिकरुपमा विकट र दुर्गम एक बस्तीका बासिन्दाले नाचगान गरेर जुटाएको रकमबाट विद्यालय सञ्चालन गरिरहेका छन् ।

मुदी गाविसको १ देखि ४ नम्बर वडामा पर्ने नाउरा गाउँका बासिन्दाले राउन्ड धौलागिरि पदयात्रामा जाने पर्यटकलाई स्वागत सत्कार गरेर जुटाएको रकमबाट निजी स्रोतका शिक्षकलाई तलब भत्ता दिने गरिएका छन् ।

गाउँमा विद्यालय नहुँदा डेढ/दुई घन्टा पैदल हिँडेर अर्को बस्तीको विद्यालयमा पुग्न नसक्दा बालबालिका आधारभूत शिक्षा हासिल गर्नबाट वञ्चित हुने अवस्था आएपछि विसं २०५७ मा नाउरावासीले स्थापना गरेको कक्षा ३ सम्मको पठनपाठन हुने रनजनज्योति प्राविमा एउटा पनि दरबन्दीका शिक्षक छैनन् ।

गाउँमा आउने पर्यटकलाई स्थानीय कला र संस्कृतिमा आधारित गीत र नृत्य देखाएर स्वागत गरी सङ्कलित रकमबाट विद्यालयमा कार्यरत दुई शिक्षकलाई तलब दिने गरिएको विद्यालयका संयोजक टेकप्रसाद रोकाले बताउनुभयो ।

मासिक रु १० हजार शिक्षकको तलब भत्तामा खर्च हुने गरेको छ । जिल्ला शिक्षा कार्यालयबाट शैक्षिक सामग्री र व्यवस्थापनका लागि रु एक पनि सहयोग प्राप्त नभएको संयोजक रोकाले गुनासो गर्नुभयो ।

पर्यटक स्वागतबाट पर्याप्त सहयोग जुटाउन नसकेको अवस्थामा प्रत्येक घरबाट उठाएर तलब दिने गरिएको छ । उक्त विद्यालयमा हाल २३ जना बालबालिका अध्ययनरत छन् । उन्नाइस घरधुरीको बसोवास रहेको नाउरा गाउँमा विद्यालय नहुँदा त्यहाँका स–साना बालबालिका नजिकमा पर्ने खिवाङमा रहेको चन्द्रज्योति माविमा पुग्न कम्तीमा डेढ घन्टा हिँड्नु पर्ने बाध्यता थियो ।

भिर र खोलाको बाटो हिँडेर विद्यालय जान नसकेर धेरैजसोले पढाइलाई निरन्तरता दिन समस्या भएपछि गाउँले मिलेर विद्यालय खोलेको संयोजक रोकाले बताउनुभयो ।