९ कार्तिक २०८३, सोमबार

गरिबी निवारणका लागि सरकारले सहकारी क्षेत्रसँग समन्वय गर्नुपर्छ : बडाल

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । पूर्वमन्त्री तथा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव प्रसाद बडालले गरिबी निवारणका लागि मुलुकका तीन वटै तहका सरकारहरूले सहकारी क्षेत्रसँग समन्वय गर्नुपर्ने बताएका छन् ।

बहुआयामिक गरिबीको अन्त्यका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै उनले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले गरिबी निवारणका लागि सहकारी क्षेत्रसँग समन्वय गरेर योजना निर्माण र कार्यान्वयन गर्नु पर्नेमा जोड दिएका हुन् । सहकारीमार्फत आर्थिक र सामाजिक रूपान्तरणका लागि सहकारी क्षेत्रको प्रभावकारी परिचालनका लागि अभियान सदैव तत्पर रहेको उनको भनाइ छ ।

हिजो पोखरामा भएको राष्ट्रिय सहकारी बैंकको १८औं वार्षिक साधारणसभाको एकाई (४) अन्तर्गत गण्डकी प्रदेशस्तरीय सभालाई सम्बोधन गर्ने क्रममा बडालले सो कुरा बताएका हुन् । सहकारी नेपाली अर्थतन्त्रको महत्वपूर्ण खम्बा भएको चर्चा गर्दै देशको गरिबी अन्त्य तथा विकास निर्माणका काममा समेत सहकारीले महत्वपूर्ण भूमिका खेल्न सक्ने उनले बताएका छन् ।

सभामा गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले सहकारीहरूको योगदानका कारण रोजगारी सृजनादेखि उत्पादनमा सहयोग पुगेको बताए । समृद्ध समाज निर्माणका लागि सरकारले लिएको लक्ष्यलाई पूरा गर्नका लागि सहकारी क्षेत्रको भूमिका थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिँदै मन्त्री बुढाले प्रदेश सरकार सहकारीहरूसँग समन्वय गरेर अगाडि बढ्न तयार रहेको बताएका छन् ।

त्यस्तै प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार उदयबहादुर पराजुलीले सरकार र सहकारी अभियान मिलेर सहकारी क्षेत्रको प्रवर्द्धनमा काम गर्नु पर्ने बताए ।