
पोखरा, २२ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समृद्ध गण्डकी प्रदेशका लागि सहकारी क्षेत्रको सबलीकरणमा जोड दिएका छन् ।
सहकारी समाजको आर्थिक सामाजिक रूपान्तरणका लागि सहकारी नै उपयुक्त माध्यमका रूपमा रहेको उनको भनाइ छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभाको एकाई (४) अन्तर्गत गण्डकी प्रदेशस्तरीय सभाको बिहीबार गण्डकी प्रदेशको राजधानी पोखरामा उ्घाटनपछि मुख्यमन्त्री पोखरेलले सो कुरा बताएका हुन् ।
‘गण्डकी प्रदेश महत्वपूर्ण स्रोतसाधनले भरिपूर्ण प्रदेश हो, यहाँका स्रोतहरूको अधिकतम परिचालनका लागि सहकारी र सरकारबीच सहकार्य आवश्यक छ,’ उनले भने, ‘सहकारीले पर्यटन, जलविद्युत्, उद्योग तथा व्यवसाय र रोजगारी प्रबर्द्धनमा लगानी गर्नुपर्दछ ।’ सहकारीले सामाजिक उत्तरदायित्व अनुसार समेत काम गर्दै उत्पादनमुखी हुन जरुरी रहेको उनको भनाइ छ ।
प्रदेशको आर्थिक विकासका लागि सहकारी क्षेत्रलाइ बाहिर राखेर सम्भव नहुने बताउँदै उनले जनताको स–सानो पूँजी र प्रविधिमार्फत आयआर्जन गराउँदै सहकारीले आफ्नो भूमिका बढाउदै लैजानुपर्नेमा जोड दिए । मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशका तर्फबाट सहकारीलाई सकारात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।















प्रतिक्रिया