८ कार्तिक २०८३, आइतबार

नुवाकोट बन्यो कोरोनाभाइरसमुक्त जिल्ला

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, १८ पुस । नुवाकोट कोरोना भाइरसको सक्रिय संक्रमितमुक्त जिल्ला भएको छ ।

पुस १४ गतेदेखि नुवाकोट सक्रिय संक्रमित मुक्त जिल्ला बनेको हो । मंगलबारसम्म २ जना सक्रिय संक्रमित रहेकोमा बुधबार उनीहरू संक्रमण मुक्त भएसँगै नुवाकोटमा संक्रमण मुक्त जिल्ला बनेको स्वास्थ्य कार्यालय नुवाकोट सूचना अधिकारी उत्तम खनालले जानकारी दिए ।

पछिल्लो दुई सातादेखि नुवाकोटमा सक्रिय संक्रमितको संख्या १० बाट ओरालो लागेको थियो । गत वर्षको चैत तेस्रोसाताबाट दोस्रो लहरको संक्रमित फेला पर्न थालेपछिबाट पहिलो पटक जिल्लामा कोरोनाको संक्रिय संक्रमित मुक्त जिल्ला बनेको हो ।

भारतमा तेस्रो लहरको जोखिम बढीरहेको बेलामा नुवाकोट सक्रिय संक्रमित मुक्त जिल्ला बनेको छ । कोरोनाको नयाँ भेरियन्ट अमिक्रोनको जोखिम नेपालमा पनि बढीरहेको छ । जिल्लामा कोरोनामा नयाँ संक्रमणलाई रोक्नको लागि सरोकारवालाहरूले बेलैमा ध्यान दिन आवश्यक छ । संक्रमित शुन्य भो भनेर कानमा तेल हालेर बस्न भने नहुने देखिन्छ ।

कोरोना भाइरसको पहिलो चरणमा १ हजार १ सय ४५ जना र दोश्रो चरणमा ७ हजार २ सय ४७ गरी ८ हजार ३ सय ९० जना कोरोना भाइरसबाट संक्रमित भएका थिए । त्यस मध्ये पहिलो चरणमा १ जनाको र दोश्रो चरणमा ५१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यलय नुवाकोटको तथ्यांकमा उल्लेख गरिएको छ ।

हाल सम्म नुवाकोटका १८ हजार ६ सय २५ जना पुरुष र १० हजार २ सय १ जना गरी २८ हजार ८ सय २६ जनाको नमुना परिक्षण गरिएको छ । नमुना परिक्षण गरिएको मध्ये ५ हजार ११ जना पुरुष र ३ हजार ३ सय ७९ जना महिला गरी ८ हजार ३ सय ९० जनामा संक्रमण देखिएको थियो । त्यसम मध्ये ८ हजार ३ सय ३८ जना संक्रमण मुक्त र ५२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यलय नुवाकोटको तथ्यांकमा उल्लेख गरिएको छ ।

नुवाकोट कोरोना भाइरस संक्रमण मुक्त जिल्ला भएता पनि जोखिम कायम नै रहेकोले अनिवार्य रूपमा जनस्वास्थ्यको मापदण्ड अपनाउन स्वास्थ्य कार्यालय नुवाकोटले अनुरोध गरेको छ । साथै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि खोप अभियान समेत चलिरहेकोले लक्षित वर्ग सबैलाई खोप अभियानमा सहभागी हुन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।