
काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा सभापति, उपसभापति र महामन्त्रीमा पराजित पाँच नेतासहित १० जनालाई केन्द्रीय सदस्य बनाएका छन् ।
१४औं महाधिवेशनमा सभापतिमा हारेका प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो । यसैगरी उपसभापतिमा दुई मतले पराजित बनेका वियकुमार गच्छदार र उपसभापतिमा नै पराजित सुजाता कोइरालासहित १० नेतालाई हिजो शनिबार देउवाले केन्द्रीय सदस्य मनोनित गरेका हुन् ।
कांग्रेस विधानमा सभापतिलाई ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार छ । देउवाले महामन्त्रीमा पराजित डा। प्रकाशशरण महतलाई पनि केन्द्रीय सदस्य बनाएका छन् ।
यसैगरी, नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पनि केन्द्रीय सदस्य मनोनीत भएका छन् । उनीहरू दुवै जना महाधिवेशनको मैदान बाहिरै थिए । सिटौलाले देउवालाई सघाएका थिए ।
यसैगरी, नेता डा. नारायण खड्का, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाईसमेत देउवाले केन्द्रीय सदस्य मनोनीत गरेका छन् । केन्द्रीय सदस्यमा मनोनित भएकामध्ये नेता पौडेल, सिटौला, खड्का, रेग्मी र विश्वकर्माले १४औं महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिएका थिएनन् ।
निधि र सिंहले भने पहिलो चरणको सभापतिको निर्वाचनमा हार बेहोरेपछि दोस्रो चरणमा देउवालाई सघाएका थिए । कांग्रेसमा विधानमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने अधिकार छ ।
विधानअनुसार कांग्रेस केन्द्रीय समिति १ सय ६७ सदस्यीय हुनेछ । जसमध्ये महाधिवेशनबाट १ सय ३४ जना निर्वाचित भएका हुन् भने सभापतिका निकटम प्रतिस्पर्धी स्वतः केन्द्रीय सदस्य हुने विधानको व्यवस्था छ ।















प्रतिक्रिया