
काठमाडौं, १५ पुस । मौसम पूर्वानुमान महाशाखाले आज बिहीबारदेखि मौसममा सुधार आउने अनुमान गरेको छ ।
गत आइतबारदेखि क्रमशः पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार देशभर वर्षा र हिमपात भयो भने त्यधिक चिसो बढ्दा जनजीवन समेत प्रभावित बनेको छ ।
महाशाखाका अनुसार आजदेखि क्रमशः न्यून चापीय प्रणालीको असर हट्दै जाने र दिउँसो घाम लाग्ने पूर्वानुमान छ । यद्यपि, बिहान पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपसमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव भने कायमै रहने पनि बताइएको छ ।
बिहीबार बिहान देशभर आंशिक मौसम छ भने थोरै स्थानमा वर्षा भइरहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात भइरहेको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । शुक्रबार गण्डकी र प्रदेश १ एक वा दुई स्थानमा हल्का वर्षा र ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना छ ।















प्रतिक्रिया