९ कार्तिक २०८३, सोमबार

पद बेचेको पैसा गायब भएपछि रुकुमका काङ्ग्रेस नेताहरूबीच कुटाकुट !

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम, १४ पुस । नेपाली काँग्रेस रुकुमको जिल्ला अधिवेशनमा विभिन्न पदहरुमा भएको किनबेच काण्ड अझै सेलाएको छैन ।

केन्द्रीय महाधिवेशन सम्पन्न भइसक्दा पनि जिल्ला अधिवेशनमा भएको किनबेचको हिसाब भद्रगोल भएपछि विवाद सतहमा पुगेको छ । विषेशगरी महाधिवेशन प्रतिनिधि पदमा भएको किनबेचको हिसाब किताबमा पारदर्शिता नभएको भन्दै व्यक्ति–व्यक्तिबीच हिसाब मागामाग भइरहेको छ ।

जिल्ला हुँदै काठमाडौसम्म महाधिवेशन पद बेच्ने कार्यमा अग्र स्थानमा देखिएका हालै दलित कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित मानबहादुर नेपालीमाथि लाखौं रकम हिनामिना भएको आरोप लागेको छ ।

उक्त रकमबारे फेस गर्न मानबहादुरलाई हम्मेहम्मे परेको बताइन्छ । यसपटक सहमतिका नाममा जिल्ला अधिवेशनबाट विभिन्न पदहरु राम्रा मान्छेलाई पन्छाएर मानबहादुरलगायत नेताहरुको अगुवाइमा ५ देखि २० लाख रुपैयाँसम्ममा बेचिएको थियोे । यस्तो कार्यमा मानबहादुर निकै जेलिएको स्रोत बताउँछ ।

यो अधिवेशनबाट मानबहादुरले ३० देखि ३५ लाख रुपैयाँसम्म आम्दानी गरेको काँग्रेस रुकुमका एक नेता बताउँछन् ।

यहि विषयमा गएको शनिबार काठमाडौको बसुन्धारा धापासीमा रहेको जिल्ला सभापति प्रेम प्रकाश ओलीको निवासमा हिसाबकिताब मिलानसम्बन्धी भेला भयो । उक्त भेलामा केन्द्रीय सदस्य मानबहादुर नेपाली, सभापति प्रेम प्रकाश ओली, जिल्ला स्तरका नेता धिरेन्द्र बटाला र आठबिसकोट नगरपालिका काँग्रेस सभापति अमृत बोहरा (हरियाली) सहभागी थिए ।

करिब २० लाख रुपैयाँ हाराहारीमा महाधिवेशन पद किनेका ललित शाहीले आठबीसकोट नगरपालिकाको तरुणदललाई दिएको ६ लाख ५० हजार हिनामिना भएको कुरा उठेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार मानबहादुरमार्फत ललित शाहीले दिएको ६ लाख ५० हजार रुपैया कहाँ गयो भनेर नगरसभापति अमृत बोहराले प्रश्न उठाए । किनभने उक्त रकम बोहराकै नगरपालिकाका तरुणदलको पोशाक खरीदका लागि दिइएको थियोे । तर सम्बन्धित ठाउँमा नपुगेपछि अमृतले उक्त कुरा उठाएका हुन् ।

पैसाको हिसाबकिताब खोज्न थालेपछि मानबहादुरले सिधै उक्त पैसा मैले खाएँ, म केन्द्रीय सदस्य भएँ, अब मलाई जिल्लाका कोहि नेता कार्यकर्ता कसैको आवश्यक पर्दैन भन्ने जवाफ फर्काए । यो सुन्नेबित्तिकै आठबीसकोट नगरपालिका नगरसभापति अमृत बोहरा जंगिदै बसेको कुर्सी उठाएर मानबहादुरलाई हिर्काउन खोजेको स्रोतको दाबी छ ।

त्यहि बेला सभापति ओली र धिरेन्द्र बटालाले अमृतलाई सम्झाउदै रोके । उक्त घटना काँग्रेस रुकुमभित्र अहिले चर्चाको विषय बनेको छ । त्यसपछि अवस्था असामान्य बनेपछि उक्त छलफल उतिबेला नै सकियो । यो घटनाले जिल्लामा ठुलै रुप लिने संकेत गरेको छ ।

जिल्ला अधिवेशनमा मनपरि गरेको, राम्रा नेता तथा कार्यकर्ताको अपमान गरेको, पार्टीका विभिन्न पद बेचेर बदनाम गरेको भन्दै गाउँ तथा नगर समितिले गोपाल जि शाह, कृष्ण रोकाय, मानबहादुर नेपालीलगायत चार जना नेताहरूलाई गाउँ प्रवेशमा निषेध गर्ने तयारी गरेको स्रोत बताउँछ ।

त्रिवेणी गाउँपालिका, सानोभेरी गाउँपालिकाले यी नेताहरूलाई निर्णय गरेरै गाउँ प्रवेशमा निषेध गरेको खबर सार्वजनिक भइसकेको छ । यस्तै आठबीसकोट र बाँफीकोटले पनि उक्त तयारी गरेको स्रोतले बताउँछ । यी नेताहरूले काँग्रेस रुकुमको इतिहासमा आर्थिक लोभमा परेर यति बदनाम गरेका छन् यिनलाई किन गाउँमा आउन दिने ? एक गाउँपालिका सभापति प्रश्न गर्छन् ।