– सुदीप अधिकारी
बर्दिया, २ वैशाख । बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा गणना कार्य सुरु गरिएको छ । १६ औँ वन्यजन्तु सप्ताहको अवसर पारी बुधबारदेखि निकुञ्जमा गैँडा गणनाको काम सुरु गरिएको छ ।
बुधबार विहान वनदेवीलाई बोकाको बली चढाएर गणनाको कार्य प्रारम्भ गरिएको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत भोजराज पन्त र राष्ट्रिय प्रकृती संरक्षण कोषका शैलेन्द्र यादवको नेतृत्वमा १७ वटा हात्तीमा गणक प्रविधिक र सहयोगीसहितको टोलीले निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने खाता करिडोरबाट गैँडा गणनाको काम सुरु गरेको छ ।
गणनाको काम एक सातासम्म चल्ने निकुञ्जले जनायो । निकुञ्ज क्षेत्रलाई ६ ब्लकमा विभाजन गरि गणना गरिने छ । निकुञ्जका प्रविधिक, कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधी, सेना गरी जम्मा ९७ जना गैँडा गणना कार्यमा सम्लग्न रहेको प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए ।
गैँडा गणना कार्यमा यस पटक निकुञ्जका ४ जना महिला कर्मचारी पनि खटिएका छन् । यस भन्दा अघिका वर्षमा महिला कर्मचारीको सहभागीता हुदैनथ्यो । निकुञ्जमा हरेक ४/४ वर्षमा गैँडा गणना गर्ने प्रचलन छ ।
गणनाबाट निकुञ्जमा पछिल्लो समयमा गैंडाको वास्तविक संख्या पत्ता लाग्नुका साथै गैंडाको अवस्था र वासस्थानका वारेमा धेरै जानकारी प्राप्त हुनुका साथै गैंडा संरक्षणका चुनौतीहरु पत्ता लगाई व्यवस्थापनका लागि योजना बनाउनसमेत गणना कार्यले सहयोग गर्ने निकुञ्जको विश्वास छ ।
पछिल्लो पटक सन् २०११मा बर्दिया निकुञ्जमा गैँडा गणना गरिएको थियो । पछिल्लो रेकर्ड अनुसार निकुञ्जमा २४ वटा गैँडा रहेका छन् । यसपटकको गणनाबाट पनि बर्दिया निकुञ्जमा गैँडाको संख्या बढ्ने निकुञ्जको अनुमान छ ।
















प्रतिक्रिया