बुटवल । रुपन्देही जिल्लामा महिला हिंसाका घटनामा दोब्बर वृद्धि भएको पाइएको छ ।
महिलाका अधिकांश घरेलु हिंसा र बलात्कारका घटनाबाट पीडित हँुदा महिला हिंसाका घटनामा वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।
महिला अधिकारका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था ओरेक नेपालको लुम्बिनी अञ्चलस्तरीय तथ्याङ्कलाई हेर्दा आव २०६८÷६९ मा विभिन्न किसिमका महिला हिंसासँग सम्बन्धित घटना ३९९ भएका थिए । त्यो संख्या आव २०६९÷०७० मा झन्डै दोब्बर बढेर ७२१ पुगेको ओरेकले जनाएको छ ।
जिल्लामा भएका महिला हिंसासँग सम्बन्धित घटनामा बलात्कार, यौनहिंसा, बहुविवाह, बेचबिखन, सम्भावित बेचबिखन, आत्महत्या, सामूहिक बलात्कार, बेपत्ता महिला, बेपत्ता बालिका र वैदेशिक रोजगारीलगायत देखिन्छन् ।
महिला हिंसाका घटनामध्ये सबैभन्दा बढी घरेलु हिंसाका घटनामा वृद्धि भएको देखिन्छ । तथ्याङ्कअनुसार आव २०६८÷६९ मा २१९ वटा घरेलु हिंसाका घटना भएको देखाइएको छ । यस्तै घरेलु हिंसाका घटना आव २०६९÷०७० मा झन्डै दोब्बर बढेर ३९४ पुगेको छ ।
यस्तै आत्महत्याका घटनामा पनि उल्लेख्य वृद्धि भएको पाइएको छ । तथ्याङ्कअनुसार आव २०६८÷६९ मा ८१ महिलाले आत्महत्या गरेकामा आव २०६९÷०७० मा त्यस्ता घटनाको सङ्ख्या ११२ पुगेको छ । यस्तै सम्भावित बेचबिखनको घटना आव २०६८÷०६९ मा ३१ रहेकामा सो सङ्ख्या आव २०६९÷०७० मा दोब्बर बढेर ६९ पुगेको छ ।
महिला हिंसाका घटनामा सबैभन्दा जघन्य अपराध बलात्कारका घटनामा पनि निकै वृद्धि भएको ओरेक नेपालको तथ्याङ्कमा देखिएको छ । आव २०६८÷०६९ मा जिल्लामा आठ बलात्कारका घटना भएका थिए । यस्तो घटनाका सङ्ख्यामा पनि आव २०६९÷०७० मा व्यापक वृद्धि भई २६ पुगेको छ ।
यस्तै महिला सबैभन्दा बढी पीडित आफ्नै श्रीमानबाट भएको पनि तथ्याङ्कमा देखाइएको छ । आव २०६९÷०७० को मात्र तथ्याङ्कलाई हेर्दा ३११ महिला श्रीमानबाटै घरेलु हिंसामा परेका छन् । यस्तै ४३ जना घरपरिवारबाट र १२ जना छरछिमेकबाट घरेलु हिंसामा परेका छन् ।
यस्तै बलात्कारका घटनामा आव २०६९÷०७० मा चार महिला घर परिवारबाट पीडित बनेको र १२ जना छरछिमेकबाट पीडित बनेका छन् । आव ०६९÷७० मा ५५४ घटनामा श्रीमान् पीडक रहेका, ५४ विभिन्न घटनामा घरपरिवार पीडक रहेको र ४३ वटा घटनामा छरछिमेक पीडक रहेको देखिन्छ ।
ओरेक नेपालले यो तथ्याङ्क प्रहरी महिला सेल, महिला तथा बालबालिका कार्यालय, सरकारी वकिलको कार्यालयबाट प्राप्त गरी तयार गरेको जनाएको छ । ओरोक नेपाल पश्चिमाञ्चल कार्यक्रम संयोज इन्दिरा आचार्य महिला हिंसाका घटनामा वृद्धि हुनामा विगतका तुलनमा पीडित खुल्नेक्रम बढ्नुसँगै अपराधी कानुनी दायरामा आउन नसक्नु नै प्रमुख रहेको बताउनुहन्छ ।













प्रतिक्रिया