
काठमाडौं, १० पुस । कामना सेवा फुट्सल कपको नकआउट समीकरण पूरा भएको छ ।
हिजो शुक्रबार भएको समूह चरणको खेलबाट नकआउट चरण पुग्ने १६ टोलीको टुंगो लागेको हो । प्रतियोगितामा सहभागी २४ टिमलाई ६ समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराईएको थियो । समूह एबाट कुमारी बैंक समूह विजेता र सांग्रिला डेभलोपमेन्ट बैंक उपविजेता बन्दै प्रि–क्वार्टर फाइनल प्रवेश गरे ।
समूह बीबाट नेपाल राष्ट्र बैंक समूह विजेता र मुक्तिनाथ विकास बैंक उपविजेता बने । समूह सीबाट नेपाल इन्भेसमेन्ट बैंक विजेता र हिमालयन बैंक उपविजेता तथा समूह डीबाट ज्योती विकास बैंक विजेता र रिलायन्स फाइनान्स उपविजेता बने ।
यस्तै समूह इबाट मेगा बैंक विजेता र प्रिमियर इन्स्योरेन्स उपविजेता तथा समूह एफबाट सिद्धार्थ बैंक विजेता र कामना सेवा विकास बैंक निलो उपविजेता बने । उत्कृष्ट तेस्रो स्थानमा रहदै सिटिजन बैंक इन्टरनेश्नल, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक र कामना सेवा विकास बैंक हरियोले समेत नकआउट चरणमा स्थान बनाए ।
समूह चरणमा अन्तिम टिमको टुङ्गो टसबाट गरिएको थियो । आयोजकको हरियो टिम र साइन रेसुङ्गा बैंकको टिमबीच अंक (समान ३ अंक), गोल अन्तर (समान –२ अंक) र कार्ड समेतमा बराबर भएपछि टसका आधारमा अन्तिम टिमको टुङ्गो लगाईएको थियो ।
प्रि–क्वार्टरफाईनलमा कुमारी बैंक र हिमालयन शेर्पा तथा एनआईबीएल र सांग्रिला बैंकबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, नेपाल राष्ट्र बैंकले रिलायन्स फाइनान्ससँग, मेगा बैंकले कामना सेवाको निलो टिमसँग, सिटिजन बैंकले माछापुच्छ्रे बैंकसँग, ज्योती विकासले मुक्तिनाथसँग, सिद्धार्थले प्रिमियर इन्स्योरेन्ससँग र गरिमा विकास बैंकले कामना सेवाको हरियो टिमसँग प्रतिस्पर्धा गर्नेछन् ।
‘स्वस्थ शरीर स्वस्थ मस्तिष्क’ नारालाई आत्मसात गर्दै कामना सेवा विकास बैंकले ‘कामना सेवा फुट्सल कप २०२१’ आयोजना गरेको हो । हिजो शुक्रबार शुरू भएको यो प्रतियोगिता आज समापन हुँदै छ । काठमाडौं महानगरपालिका–४, हाँडीगाउँस्थित धन्वन्तरी फुट्सल मैदानमा युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
प्रतियोगिताको विजेताले ट्रफी, मेडल सहित उत्कृष्ट गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।















प्रतिक्रिया