
काठमाडौं, १० पुस । इसाई धर्मको प्रवर्तकका रूपमा चिनिने येशु ख्रीष्टको जन्मदिनको अवसरमा आज ‘क्रिसमस–डे’ मनाइँदै छ ।
इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण इसाई धर्मावलम्बीहरूमा शुभकामना व्यक्त गरेकी छिन् ।
‘इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस–डे’ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु,’ राष्ट्रपति भण्डारीद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ ।
जिसस क्राइस्ट वा येशु वा ईशा मसिहको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मका अनुयायीहरूले हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक र सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी क्रिसमस–डे मनाउँदै आएका छन् ।
यस्ता चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने राष्ट्रपति भण्डारीको विश्वास छ ।
राष्ट्रपति भण्डारीले क्रिसमस–डे जस्ता पर्वहरूले सबै नेपालीबीच आपसी विश्वास, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज तथा समुन्नत नेपाल निर्माणतर्फ अग्रसर हुन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरेकी छिन् ।
सारा मानव जातिका मुक्तिदाताको रूपमा तथा सबै मानवलाई परमेश्वर पितासँग मिलाप गराएका मुक्तिदाता, उद्धारकर्ता तथा शान्तिदाताका रुपमा इसाई धर्मावलम्बीहरूले येशु ख्रीष्टलाई विश्वास गर्दै आएका छन् । उनैको जन्मदिनको रूपमा ‘क्रिसमस–डे’ मनाइँदै आएको छ ।
नेपालमा इसाईबाहेकका धर्मावलम्बीहरूले पनि क्रिसमस–डेलाई विशेष महत्व दिने गरेका छन् । आज शनिबार परे पनि सरकारले यो दिवसलाई लक्षित गरी सार्वजनिक विदा दिने निर्णय समेत गरेका छ ।















प्रतिक्रिया