
काठमाडौं, ९ पुस । एसीसी यू१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज शुक्रबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
यूएईस्थित सारजाह रंगशालामा नेपाल र बंगलादेशबीचको खेल आज बिहान सवा ११ बजे सुरु हुने छ । नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुने छ ।
बंगलादेश नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ । नेपाल देव खनालको कप्तानी तथा वसन्त शाहिको प्रशिक्षणमा राम्रो नतिजा दिने लक्ष्यमा छ । समूह बी मा नेपाल, बंगलादेश, श्रीलंका र कुवेत छन् ।
समूह ए मा भारत, पाकिस्तान, अफगानिस्तान र युएई छन् । नेपाली यू१९ टोली उच्च मनोबलका साथ युएई पुगेको छ । नेपालले साविक विश्वकप च्याम्पियन बंगलादेशलाई हराउँदै सनसनी मच्चाउन चाहन्छ । आइसिसी यू१९ एसिया छनोट रद्ध हुँदा विश्वकप खेल्ने अवसर गुमाएको नेपाल त्यसको इख एसिया कपमा पोख्ने सोचमा छ ।
बंगलादेश साविक विश्वकप च्याम्पियन टोली हो । विश्वकप जित्दाका रकिबुल हसन कप्तान छन् । त्यस्तै विश्वकप जित्दाका ओपनर प्रान्तिक नबिल पनि यू१९ एसिया कप टोलीमा छन् । भारतसँगको अभ्यास खेलमा नबिलले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
भारतविरुद्ध उनले १ सय १ रनको शतकीय इनिङ खेलेका थिए । एसएम महरोब हसन र मोहम्मद फहिम मध्यक्रमका ब्याटर हुन् ।















प्रतिक्रिया