
काठमाडौं, ८ पुस । जिउ मास्ने बेच्ने (मानव बेचबिखन तथा ओसारपसार) कार्यमा संलग्न जनालाई प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा संखुवासभाको मादी नगरपालिका–३ का ५२ वर्षीय युवराज गुरुङ छन् । फरार रही बेल्जियममा बसोबास गरिरहेका उनलाई गत मंसिर २३ गते प्रहरीले पक्राउ गरेको हो ।
एक महिलालाई उनले वैदेशिक रोजगारीको सिलसिलमा बेल्जियम लैजाने भन्दै गुरूङ समेतले ललाईफकाई पीडित महिलाको करिब ५० हजार रुपैयाँ नगद, सुनका गहना तथा घर समेत बिक्री गर्न लगाएका थिए ।
बेचबिखनबाट प्राप्त रकमसहित २०५५ सालमा महिलालाई घरबाट काठमाडौं ल्याई आफन्तसँग सम्पर्क गर्न समेत नदिएको प्रहरीले बताएको छ । यसरी महिलालाई लुकाई बेपत्ता बनाएकाले जिउ मास्ने बेच्ने मुद्दाको थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न नेपाली मूलका बेल्जियम नागरिक गुरुङलाई ललितपुरबाट पक्राउ गरेको हो ।
गुरूङ बेल्जियमबाट नेपालतर्फ कृषिजन्य वस्तुको व्यापार व्यवसाय गर्ने सिलसिलामा नेपाल आएको बेला ललितपुर महानगरपालिका–२ सानेपाबाट पक्राउ परेका हुन् ।
गुरुङ समेतले पीडित महिलालाई नेपालबाट बेल्जियम जान मिल्दैन भारतको बाटो हुँदै जानुपर्छ भनि भारतको नयाँ दिल्लीसम्म ओसारपसार गरी एक महिनासम्म अलपत्र बनाई राखेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र थप अनुसन्धान भइरहेको उक्त व्यूरोले बुधबार जनाएको छ ।















प्रतिक्रिया