
काठमाडौं, ८ पुस । सवारी दुर्घटनामा परी ग्रिसमा मृत्यु हुने चार जना नेपालीको पहिचान खुलेको छ ।
मृत्यु हुनेहरूमा दोलखाको भीमेश्वर नगरपालिका–६ का ३० वर्षीय राजु लामा, रसुवाको आमाछोदिङमो गाउँपालिका–४ की २१ वर्षीया शर्मिला भनिने रमिला घले, कैलालीको गौरीगंगा नगरपालिका–४ का ३८ वर्षीय लक्ष्मण सापकोटा र तनहुँको घिरिङ गाउँपालिका–५ का ओमबहादुर थापा छन् ।
अवैध रूपमा टर्कीबाट ग्रिस छिर्न खोज्दा भएको गाडी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो । ग्रिसको राजधानी एथेन्सबाट ५०२ किमि पूर्वमा गत कात्तिक २५ मा भएको दुर्घटनामा ७ जनाको ज्यान गएकामा चार जना नेपाली परेको गत सोमबार मात्रै पुष्टि भएको हो ।
ग्रिस इन्टरपोलले पठाएको पत्रअनुसार सवारी लाइसेन्स नभएका मोल्दोभाली चालकले चलाएको कालो कारमा १५ जना सवार थिए । ग्रिस प्रहरीले रोक्न खोजेपछि तीव्र गतिमा हुइँकिएको कार पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो ।
उक्त कारको डिक्कीमा मात्रै चार जना रहेको जनाइएको छ । दुर्घटनामा घाइते भएका दोलखाको भीमेश्वर नगरपालिका–९ का मनु लामा र कैलालीको गौरीशंकर नगरपालिका–४ का लोकराज आचार्य केही दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका थिए ।
लोकराज र लक्ष्मण असोज २ मा नेपालबाट सँगै टर्की उडेका थिए । मनु र राजु भने असोज ९ मा उडेका थिए ।















प्रतिक्रिया