
काठमाडौँ, ६ पुस । काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा भइरहेको परीक्षामा हलभित्र प्रवेश गरेर शिक्षकमाथि आक्रमण भएको छ ।
मंगलबार विहान बीएसडब्लू पहिलो वर्षको आन्तरिकतर्फको ३० अंकको परीक्षा भइरहेको बेला शिक्षक प्रकाश पुडासैनीमाथि स्नातक दोस्रो वर्षका विद्यार्थी कुवेर जेठाराले आक्रमण गरेको बताइएको छ ।
परीक्षाको समयमा जेठारा कोठाभित्र प्रवेश गरेपछि शिक्षक पुडासैनीले बाहिर जान भने पनि जेठाराले उल्टै शिक्षकसँग विवाद गरेका थिए ।
अर्का शिक्षकले जेठारालाई बाहिर निकाले पनि पुनः कक्षाकोठामा गएर शिक्षक पुडासैनीमाथि आक्रमण गरेको बताइएको छ ।
घटनापछि क्याम्पस प्रमुख, शिक्षकहरु र जेठारासँग छलफल भएको थियो । जसमा शिक्षकहरुले जेठाराले गल्ती गरेको ठहर गरेका थिए । तर पानी पिउने बहानामा बाहिर निस्किएका जेठाराले पानीको जगले शिक्षक पुडासैनीमाथि आक्रमण गरेर फरार भएका बताइएको छ ।
आक्रमणबाट शिक्षक पुडासैनीको टाउकोमा चोट लागेको र काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहेको छ ।
अनेरास्ववियुमा आवद्ध जेठारालाई संगठनले पनि छानविन गर्ने बताएको छ । संगठनले नहुनुपर्ने घटना घटेको भन्दै छानबिन गर्ने जनाएको हो ।
शिक्षकमाथि हातपात भएपछि क्याम्पसका प्राध्यापकहरुले सूचना जारी गर्दै दोषीमाथि कारवाही नभएसम्म नपढाउने जनाएका छन् ।












प्रतिक्रिया