
काठमाडौँ, ६ पुस । विवेकशील साझा पार्टीले गरेको कारवाही अवैध भएको संयोजक मिलन पाण्डेले बताएका छन् ।
मंगलबार अध्यक्ष रविन्द्र मिश्रले एक विज्ञप्तिमार्फत संयोजक पाण्डेलाई पार्टीबाट निष्काशन गरिएको सूचना जारी गरेका थिए ।
त्यसको केही समयपछि संयोजक पाण्डेले पाण्डेले आफूलाई गरेको कारबाही अस्वीकार गर्ने भन्दै उक्त निर्णय अवैध रहेको बताए ।
‘पार्टीभित्रको वैचारिक तथा राजनीतिक मतभिन्नतालाई वैचारिक तथा राजनीतिक विधिमार्फत नै हल गर्नुपर्नेमा सो विपरीत ‘पार्टीबाट निष्कासन’ गरेको भनेर कुत्सित मनसाय साथ निर्णय गर्नु र भ्रमपूर्ण विज्ञप्ति निकाल्नु म दुराशयको पराकाष्ठा ठान्दछु र यो निर्णयलाई पूर्णतः अस्वीकार गर्दछु’ उनले भनेका छन् ।
उनले पार्टीको विवादको विषयमा निर्वाचन आयोगमा विचाराधीन रेहेको बताउँदै भने, ‘मलाई विश्वास छ, निर्वाचन आयोगमा बुझाइएको किर्ते दस्ताबेजलाई आयोगले खारेज गर्नेछ । त्यहाँबाट न्याय नपाए अदालतले न्याय दिनेछ ।’
‘हामी विवेकशील साझा पार्टीलाई वास्तविक विचार, नाम, शैली र पहिचानमा निरन्तरता दिनेछौँ र पार्टीमा भई रहेका अवैधानिक गतिविधिलाई निस्तेज गर्दै अघि बढ्नेछौँ’ उनले भनेका छन् ।
मंगलबार बिहान विवेकशील साझा पार्टीमा हालका केन्द्रीय समिति सदस्य समेत रहेको २०१ सदस्यीय ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’ को केन्द्रीय समिति घोषणा गरेको पाण्डेले बताएका छन् ।
‘यो कुनै समानान्तर समिति नभई पार्टीलाई अझ सुदृढ गर्ने र तलैबाट पार्टीको जग निर्माण गर्ने मूल कार्यक्रम हो । यो मङ्सिर २४, २०७४ मा भएको पार्टी एकीकरणको मर्मसहितको विवेकशील साझा पार्टीको निरन्तरता हो’ पाण्डेले विज्ञप्तिमार्फत भनेका छन् ।












प्रतिक्रिया