काठमाडौं, ४ पुस । सरकारले हालै ३ देशमा राजदूत नियुक्ति गरे पश्चात विभिन्न २० देशमा रिक्त राजदूत नियुक्ति गर्ने तयारी गरेसँगै परराष्ट्र सेवा भित्रबाट राजदूत नियुक्ति हुने करीव ४ जनाबीच कसले बाजी मार्ने भन्नेमा सेवा भित्रका सहसचिवहरूको दौडधुप र प्रतिस्पर्धा रोमान्चक हुँदै अस्वस्थ्य स्तरमा ओर्लेको छ ।
निर्मल काफ्ले, सुशील लम्साल, भरत रेग्मी, तिर्थ वाग्ले, डोरनाथ अर्याल जस्ता मन्त्रालयमा लामो समय देखि काम गरी सिनियर भएकाहरुलाई पाखा लगाउँदै बेलायतबाट ८ महिनाअघि मात्र फर्किएका दुर्गाबहादुर सुवेदी उर्फ दुबसु क्ष्रेत्री पुनस् राजदूत खानका लागि विभिन्न शक्ति केन्द्रमा धाउन थालेकोले परराष्ट्र मन्त्रालयमा भित्रभित्रै रडाको मच्चिएको छ ।
बेलायतमा हालसम्म परराष्ट्र सचिव वा त्यो भन्दा माथिल्लो स्तरको व्यक्तित्वहरूलाई मात्र राजदूत बनाई पठाउने गरिएकोमा २०४२/०४३ सालतिर रत्नराज्य लक्ष्र्मी क्याम्पसको स्ववियुको चुनावमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थि मन्डल अर्थात मन्डलेबाट उप सभापति पदमा चुनाव लडी पराजित भएका पछि राजा वीरेन्द्र र पंचायती व्यवस्थाको गुनगान गाँउदै आधारभूत आवश्यकता र एशियाली मापदन्ड सम्बन्धी शिर्षकमा कविता लेखी कविता महोत्सवमा पुरस्कृत भएका उही पुराना मण्डले दुर्गा बहादुर सुवेदी उर्फ दुवसुले बेलायतको राजदूत पड्काएका थिए ।
मण्डलेको केन्द्रीय अध्यक्ष रहिसकेका कमल थापा २०७३ साल तिर परराष्ट्र मन्त्री भएका बेला आफ्ना पुराना राजनीतिक गुरुसँगको सुमधुर सम्बन्धको भरपुर फाईदा उठाएका थिए । त्यस वखत उनले परराष्ट्रमा राजदुतका लागि सहसचिवहरूबाट जनहि मोटो रकम उठाएर ७ जनालाइ राजदूत बनाएनन मात्र आफूले सोच्दै नसोचेको देश बेलायतको राजदूत हुन सफलता प्राप्त गरे ।
यिनीबाट कमल थापाले पनि राम्रै रसस्वादन गर्न पाएका थिए भने दुवसु जस्ता आफ्ना पुराना मण्डले अनुचरहरुलाई राम्रोसँगले पुरस्कृत समेत गरेका थिए । सम्पूर्ण कुराहरूको संयोजन यिनै दुवसुले गरेका थिए । अवतार फेर्न माहिर भएकै कारण यिनी दुवसुलाइ मन्त्रालय भित्र नटवरलाल भनेर समेत चिनिन्छ ।
२०४७ सालमा बहुदल आउनासाथ यिनी म त खांटी कांग्रेसी हु भन्दै विभिन्न शक्तिकेन्द्रमा पुग्थे भने प्रत्येक पटकको सत्ता परिवर्तनमा यिनी सबै दलको आफ्नै खास मानिस बनेर नजिकिनु र फाईदा लिए पछी लात मार्नु यिनको नियतिनै हो । प्रधानमन्त्री देउवा पुत्र जयवीर बेलायतमा पढ्दाताका खुट्टा भाचिई निकै विरामी परेकाले करीव ४ वर्ष अघि आरजु देउवा नेपालबाट उनको रेखदेखको निमित्त गर्न बेलायत पुग्दा दूतावासको गेष्टहाउसमा लामो समय बसेको बेला आरजुको राम्रो चाकडी गर्न भ्याएका थिए ।
सोही सम्बन्धलाई उपयोग गर्दै यिनै महामण्डले सहसचिव दुर्गाबहादुर सुवेदीले साम दाम दण्ड भेदको नीति अख्तियार गर्दै चाकडीमा अभूतपूर्व सफलता प्राप्त गर्न लागेका छन । गत २०७८ साल मंसीर २१ गते सांझ उनले विवाह वर्षगाठ उत्सव भन्दै पाँचतारे होटल र्याडिसनमा एक भव्य पार्टी आयोजना गरेका थिए । आरजुलाई उक्त कार्यक्रममा अनुनय विनय गरी बोलाएर चाकडी बजाउने मात्र होईन कि कार्यक्रममा उपस्थित अन्यलाई दवाव र प्रभावमा राखी आफ्नो काम फत्ते गराउनका लागि यिनले यी सब प्रपन्च रचेका थिए ।
आरजु भाउजुलाई खोका चढाएर खुसी पारेँ भने म आफूमात्र नभएर अरु धेरैलाई परराष्ट्रबाट राजदूत बनाउँछु भन्दै हिड्ने यिनले प्रधानमन्त्री र वहाँको परिवार मात्र होईन कि समग्र काँग्रेस पार्टीलाई समेत बदनाम गर्न खोज्दैछन । २०७४ सालको आमचुनावको ठिक अघि प्रहरीमामा एआईजीको नयाँ दरवन्दी सिर्जना गर्दा भएको घटनाको पुनरावृत्ति राजदूत नियुक्तिमा पनि दोहोरिने पो हो कि भन्ने चिन्ता र चासो परराष्ट्रका सिनियर सहसचिवहरुलाई परेको छ ।
बेलायत जस्तो मुलुकबाट राजदूत भएर फर्किएको ८ महिना पनि नभई साम दाम दण्ड भेदको नीति अख्तियार गरी पुन: राजदूतमा नियुक्ति खाने र अन्यबाट पैसा उठाएर शक्ति केन्द्रहरुलाई रिझाउने उनका खास राजनीतिक गुरु कमल थापाकै पालाको जस्तो घटनाको पुनरावृत्ति पो हुने हो कि भन्ने कुराले आम कर्मचारी सशङ्किात बनेका छन । राजदूत भएर आएपछी कम्तीमा ४ वर्ष मन्त्रालयमा काम नगरी पुन राजदूतमा नियुक्ति गरिनु हुन्न यदी गरियो भने परराष्ट्र सेवा भित्रका सहसचिवहरु प्रति घोर अन्याय हुन जान्छ यस्तो काम प्रधानमन्त्री देउवा र यो गठबन्धनका दलका नेताहरुबाट किमार्थ हुँदैन भन्ने कुरामा कर्मचारी वृत्तमा ठूलो आशा र भरोसा रहेको छ ।
परराष्ट्र सेवा भित्रबाट राजदूत हुने कर्मचारीहरुको लागि पनि एउटा गतिलो खालको राजदूत नियुक्ति सम्बन्धि निर्देशिका बनाई तत्काल कार्यान्वयनमा ल्याउनु सरकारका लागि अति आवश्यक भई सकेको छ अन्यथा परराष्ट्र सेवा भित्रका कर्मचारीहरुमा अस्वस्थ्य प्रतिष्पर्धा भई रहन्छ चाकडी चाप्लुसी र पैसाको बिटा बोकेर विभिन्न शक्तिकेन्द्रमा दौडने । उता परराष्ट्र मन्त्री नारायण खड्का विद्धान र सक्षम हुँदाहुँदै अति सज्जन भएकोले उहाँको भद्रताको फाईदा उठाउन र क्रस चेक गर्न दुबसुले आफ्नै सहोदर भाई कृष्ण सुवेदीलाई मन्त्रीको सचिवालयमा राखेका छन । अपाङ्गको नक्कली प्रमाणपत्र बनाएर बढुवाबाट सुब्बा भएका निजका भाईलाई सुब्बा भएको ४ वर्षमानै शाखा अधिकृतमा बढुवा गराउन सफल भएका थिए दुवसु ।
भाई सुवेदीलाई शाखा अधिकृत भएको ६ वर्ष नपुग्दै पुन उप सचिव हुने हतारोले परराष्ट्र मन्त्रालयमा फेरी ओएनएम सर्भे गरी ठूलो सङ्ख्यामा कर्मचारीको दरवन्दी बढाउन पनि सुवेदी दाजुभाई लागेका छन । परराष्ट्र र दूतावासहरुमा दरवन्दी थप्नु होइन बरु कम्तीमा एक तिहाई कर्मचारी घटाएर राईट साईजिङ्ग गर्नु अत्यावश्यक रहेको छ । यसरी कुनै अमुक व्यक्तिलाई ५/६ वर्षमा नै उप सचिव बनाउन दरवन्दी बढाउन लागियो भने परराष्ट्र मन्त्रालय र नियोगहरुको सिंगो सङ्गठन संरचना भताभुङ् हुन्छ । भएका कर्मचारीहरुलाई राम्रो तलव सुविधा दिएर उपयुक्त किसिमको वृत्ति विकासको अवसर दिईनु पर्दछ ।
उता राजदूतले २ जना अर्दली लान पाउने र निजहरुलाई केही मात्रामा तलव सुविधा दिईदै आएकोमा केही कम भएको महशुस भई बढाउन वर्क आउट गर्दा अर्थ मन्त्रालयका हर्ताकर्ताहरुलाई मिस लिड गरी दूतावासमा काम गर्ने कूटनीतिक सेवाको सुब्बाको भन्दा धेरै डलर थमाउने गरी निर्णय गराउन परराष्ट्र प्रशासन सफल भएको रहेछ ।
यसको अन्तर्य राजदूतको अर्दलीको नाममा आफ्ना भाई, भतिजा, भान्जा, भान्जी भाई बहिनी ज्वाई जेठान लगायतका नजिकका नातेदारलाई विदेश लगी मोटो रकम कमाउन अवसर दिने र आफनो राजदूतको कार्यकाल सकीए पछी सकभर त्यहीको दूतावासमा काममा लगाउने, नसके राम्रो देशको भिसा लगाई उतै सेटल गराउने हो भने अर्को तिर राजदूतको अर्दलीको भन्दा सुब्बाको तलव कम हुँदा सुब्बाको मानमर्दन भई महामहिमहरु रमाउन पनि पाउने भए ।
नेपाल जस्तो गरीव देशको राजदूतलाई किन दुई दुई जना अर्दलीको सुविधा दिनु पर्यो ? अब घटाएर एक जना मात्र लान पाउने सुविधा दिदा अर्थ मन्त्रालयले मनग्गै पैसा जोगाउन सक्थ्यो त्यता तिर पनि सरकारको ध्यान जानु आवश्यक छ ।















प्रतिक्रिया