
काठमाडौं, ४ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा एमाले नजाने भएको छ ।
विगतमा जस्तै आफूहरु आइतबारका लागि बोलाइएको सर्वदलीय बैठकमा नजाने एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन् । उनका अनुसार माधवकुमार नेपालको पार्टी अवैधानिक भएको र सो पार्टी समेत सो बैठकमा सहभागी हुने सूचना अनुसार एमाले नजाने भएको हो ।
‘माधव नेपालको पार्टीप्रति हाम्रो मान्यता परिवर्तन भएको छैन र यससम्बन्धमा अदालत तथा संसदले पनि निर्णय गरेको छैन, हामी त्यसैका लागि संसदमा आन्दोलनरत छौं’ रिमालले भने, ‘यस्तो अवस्थामा नेकपा (एकीकृत समाजवादी) सहितको बैठकमा हामी जाने कुरा हुँदैन ।’
विगत लामो समयदेखि नेकपा (एमाले)ले अवरोध गर्दै आएकाले दुवै सदनका काम कारवाही प्रभावित हुँदै आएको छ ।
संसदमा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरिएको बताइएको छ । तर, सो बैठकमा विवादित अवस्थामा रहेको एमसीसीका बारे पनि छलफल हुने बताइएको छ ।















प्रतिक्रिया