
काठमाडौं, ३ पुस । नेपाली काङ्ग्रेसको १४औं महाधिवेशनमा पार्टी सभापति चयनका लागि भएको निर्वाचनबाट डा. शेखर कोइराला पराजित हुँदा नेता उमेश भट्टराईको ज्यान गएको छ ।
उनको बिहीबार हृदयघातबाट ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ । नेपाली सेनाका अवकाशप्राप्त जर्नेल भट्टराई पछिल्लो समय नेपाली कांग्रेसको पूर्णकालीन राजनीतिमा सक्रिय थिए ।
पार्टीको १४औं महाधिवेशन प्रक्रियामा सक्रिय रहेका भट्टराईले पार्टी सभापतिमा डा. शेखर कोइरालाको पराजयप्रति आफूलाई दुःख लागेको बताएका थिए । कोइरालाको पराजयपछि गत बुधबार राति उनले आफ्नो फेसबुकमा लेखेका थिए, ‘आज परिवर्तनकामी शक्ति हारेको दिन । भोलिबाट हरेक दिन डा. शेखरलाई काङ्ग्रेसीहरूले सम्झिरहनु नपरोस् !!’
अघिल्लो दिन फेसबुकमा उल्लिखित विचार व्यक्त गरेका नेता भट्टराईको भोलिपल्टै हृदयघातका कारण ज्यान जानु संयोगमात्र हो कि होइन भन्ने प्रश्न उब्जिएको छ । यसअघि तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनको खबर सुनेपछि मस्तिष्कघात भएका काङ्ग्रेस नेता नरहरि आचार्य अहिलेसम्म पनि स्वस्थ बन्न सकेका छैनन् ।















प्रतिक्रिया