भक्तपुर, १ वैशाख । बिस्केट जात्राको प्रमुख मानिने लिङ्गो आज साँझ ६ः१५ बजे ढालिएको छ ।
तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी आज साँझ लिङ्गो ढालिएपछि जात्रा सम्पन्न गरिएको हो । बिस्केट जात्राको चौथो दिन अर्थात् सोमबार ८ः४५बजे सो लिङ्गो भेलुखेलस्थित ल्योसिंखेलमा उठाइएको थियो ।
पचपन्नहाते लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ढालिएको थियो । लिङ्गो ठड्याउनुअघि लिङ्गाको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुई ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ डोरीले तानी लिङ्गो ठड्याइने प्रचलन छ । त्यही आठ डोरीले आठ कुनामा बसेर लिङ्गो ढालिएको थियो ।
लिङ्गाको कोखामा झुन्ड्याइएका दुई ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाशभैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनाका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको इतिहास तथा संस्कृतिविद् बताउनुहुन्छ ।
लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरेर आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालेको बताइन्छ ।
लिङ्गो ढालेपछि ल्योसिंखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको छ । भैरव र भद्रकाली देवदेवीको समागम जात्रा भनेर चिनिने सो रथ जुधाउने कार्यलाई स्थानीय भाषामा ‘द्यो ल्वाकिगु’ भनिन्छ ।
जात्रामा रथ जुधाउनुअघि बेताल देवतालाई गःहिटीमा ल्याएपछि झ्यालबाट कुखुरा दिई बली चढाएर रथ जुधाउने परम्परा छ । भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा सम्पन्न भएपछि ती दुवै देवदेवीको पूजा गरिने भैरव नाइके मोतीबहादुर सुवालले जानकारी दिनुभयो ।















प्रतिक्रिया