
झापा, १ पुस । नक्कली पीसीआर रोपोर्ट बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको मेचीनगर नगरपालिका–६ स्थित रिङ्जी टुर्स एण्ड ट्राभल्सका सञ्चालक समेत रहेका पेमा तामाङ छन् । उलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको बताएको छ ।
उक्त टुर्स एण्ड ट्राभल्समा नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको भन्ने सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई नक्कली रिपोर्टसहित पक्राउ गरेको हो ।
साथै प्रहरीले उक्त टुर्स एण्ड ट्राभल्सको कार्यालयमा रहेको २ थान ल्यापटप र १ थान प्रिन्टर पनि बरामद गरेको छ ।
अनुसन्धानको क्रममा ल्यापटपमा मेची अञ्चल अस्पताल, बिएण्डसी मेडिकल कलेज टिचिङ अस्पताल, नेशनल पब्लिक हेल्थ ल्याबोरेटरी काठमाडौंको अफिसियल प्याडहरूलाई डिजिटल स्क्यान गरी इडिट गरेर नाम खाली राखेको भेटिएको छ ।
त्यस्तै पीसीआर नेगेटिभ भएको रिपोर्टहरू सेभ गरीराखेको, नेपालको निशाना छाप एवम् विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरूको छापहरूलाई डिजिटल स्क्यान गरेको तथा विभिन्न सरकारी कर्मचारी, डाक्टर र व्यक्तिहरूको दस्तखतलाई डिजिटल स्क्यान गरी इडिट गरेर सेभ गरी राखेको फेला परेको प्रहरीले जनाएको छ ।
थप अनुसन्धानको क्रममा बरामद हुन आएको मेची अञ्चल अस्पतालको १ थान पीसीआर रिपोर्ट उक्त अस्पतालबाट तयार नभई कीर्ते गरेको खुल्न आएको छ ।
उनीउपर झापा जिल्ला अदालतबाट लिखतसम्वन्धी कसूरको अनुसन्धानका लागि ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।















प्रतिक्रिया