
काठमाडौं, २८ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले व्यावसायिक तथा शीप विकास तालिम केन्द्र सातवटै प्रदेशमा विस्तार गरिने बताएका छन् ।
व्यावसायिक तथा शीप विकास तालिम केन्द्र, भैंसेपाटी, ललितपुरमा पुननिर्मित भवन उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्न तथा नयाँ श्रम शक्तिको लागि पर्याप्त रोजगारी सृजना गर्न शीप तथा उद्यमशीलता अभिवृद्धिका लागि तालिम केन्द्रहरु देशभर विस्तार गर्न लागिएको बताएका हुन् ।
मन्त्री श्रेष्ठले उत्पादनशील रोजगारीका अवसरहरू अभिवृद्धि गरी नागरिकको जीवनस्तरमा सुधार, उच्च र दीगो आर्थिक विकासका लागि व्यावसायिक तथा शीप विकास तालिम केन्द्र तत्कालै प्रदेशस्तरमा लगिने र स्थानीय तहसम्म विस्तार गरिने विश्वास व्यक्त गरेका छन् ।
स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्नसक्ने उद्यमशील, दक्ष, शीपयुक्त, श्रमशक्ति विकास गरी बेरोजगारी समस्या न्यूनीकरण गर्न तालिम केन्द्रहरु बिस्तार गर्नुपर्ने उनको भनाइ छ ।
उनले आफ्नो कार्यकालमा वैदेशिक रोजगारीमा देखिएका सबै समस्या समाधान गर्ने र रोजगारीका पर्याप्त अवसर सृजना गर्न आधार खडा गर्ने समेत बताएका छन् । वैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रणका लागि छुट्टै संयन्त्र निर्माण गर्न लागिएको पनि मन्त्री श्रेष्ठले जानकारी दिएका छन् ।
वैदेशिम रोजगारबाट आर्जन भएको शीप, प्रविधि र अनुभवलाई स्वदेशमै उत्पादनमुलक क्षेत्रमा प्रोत्साहन गर्ने सरकारको नीति रहेको उनको भनाइ छ ।
२०७२ सालमा गएको भूकम्पका कारण भत्केको व्यावसायिक तथा शीप विकास तालिम केन्द्र, भैंसेपाटी, ललितपुरको भवन हालै निर्माण सम्पन्न भएको हो । ९ करोड २४ लाख लागतमा निर्माण भएको ५ तले भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यन्वयन इकाईले निर्माण गरेको हो ।















प्रतिक्रिया