काठमाडौँ, १ वैशाख । अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर र आरोग्य प्रतिष्ठान पुल्चोकको संयुक्त आयोजना भएको छैटौँ नेपाल प्रत्यारोपण खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिताको उद्घाटन उपप्रधान एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिँहले गर्नुभएको थियो ।
दशरथ रङ्गशालामा सम्पन्न दुईदिने प्रतियोगितामा एथलेटिकतर्फ पुरुष ४०० मिटर दौडमा रुद्रबहादुर बिक प्रथम, प्रेमरत्न मानन्धर दोस्रो र रामेश्वर देवकोटा तेस्रो भए ।
पुरुषतर्फ ४० वर्षमाथिको २०० मिटर र १०० मिटर दौडको दुबै इभेन्टमा विष्णुलाल श्रेष्ठ पहिलो, प्रेमरत्न मानन्धर दोस्रो र विनोद तुलाधर तेस्रो भए । ४० वर्षमुनि १०० मिटरको दौडमा कुलबहादुर आले पहिला, सुरेन्द्र तामाङ दोस्रो र रुद्रबहादुर बिकले तेस्रो स्थान हात पारे ।
महिलातर्फको १०० मिटरको दौडतर्फ गीता श्रेष्ठ पहिलो, बसन्ती लामा दोस्रो र धनु गरुङ तेस्रो तथा २०० मिटरमा गीता श्रेष्ठ पहिलो, बसन्ती लामा दोस्रोे र छिरिङ रुम्बा तेस्रो भइन् ।
पुरुष सिङ्गल्सको ब्याडमिन्टमा प्रेमरत्न मानन्धर पहिलो, सवाशिव भण्डारी दोस्रो र विष्णुलाल श्रेष्ठ तेस्रो भए । महिला सिङ्गल्सतर्फ भने बसन्ती लामा प्रथम र धनु गुरुङ दोस्रो भइन् ।
प्रतियोगीतामा मिर्गाैला चिकित्सक तथा नर्स सम्मिलित टिम र मिर्गौला प्रत्यारोपण टिमबीचको फुटबल खेलमा ४–४ गोलको बराबरीमा सकियो ।
चिकित्सक तथा नर्स सम्मिलित टिमबाट सूचना तथा सञ्चारमन्त्री डा मिनेन्द्र रिजाल तथा स्वास्थ्य सचिव शान्त श्रेष्ठ र मिर्गाैला प्रत्यारोपण टिमबाट आनी छोइङ डोल्मा, मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य र सङ्गीतकर्मी आनी छोइङ डोल्मालगायतले खेल्नु भएको थियो ।
बिजेता खेलाडीलाई स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठ, आनी छोइङ डोल्मा र बालाजु कराते डो प्रतिष्ठानका अध्यक्ष एवम प्रमुख प्रशिक्षक ध्रुवविक्रम मल्ललगायतले पुरस्कृत गर्नुभयो । रासस















प्रतिक्रिया