
काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्री बन्ने दौडमा रहेका कांग्रेस नेताद्वय विश्वप्रकाश शर्मा र गृहमन्त्री समेत रहेका बालकृष्ण खाँण उम्मेदवारी नै नपाउने निश्चितप्रायः भएको छ ।
संस्थापन पक्षले महामन्त्रीको उम्मेदवारका रुपमा डा. प्रकाशशरण महत र सिटौला पक्षका प्रदीप पौडेललाई रोजेपछि यी दुई नेता उम्मेदवार नै बन्न नसक्ने अवस्थामा पुगेको हुन् । यद्यपि, उनीहरूको स्वतन्त्र उम्मेदवारीमो सम्भावना भने अझै जीवित छ ।
कांग्रेसको संस्थापन पक्षमा बालकृष्ण खाँणको संगठन मजबुत मानिन्छ भने प्रवक्ता समेत रहेका विश्वप्रकाश शर्माको लोकप्रियता राम्रो छ । तर, उनैहरूलाई १४औं महाधिवेशनबाट नेतृत्वमा पुग्ने बाटो छेकिएको अवस्था छ ।
कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम छ । आज दिनभरि मनोनयन दर्ताको समय तोकिएकाले बिहान १० बजेदेखि उम्मेदवारी दर्ता गर्ने भनिए पनि फाट्टफुट्टबाहेक उम्मेदवारी दर्तामा रौनकता आइसकेको छैन ।
पौडेल–कोइराला समूह छिन्नभिन्न भएको र संस्थापन पक्षले पनि पदाधिकारीको टुंगो लगाउन नसकेकाले मनोनयनमा ढिलाइ भएको हो । अहिले दुवै पक्ष आ–आफ्नो प्यानल बनाउन लागिपरेका छन् ।
पदाधिकारी टुंगो लगाउन सबैभन्दा सकस सभापति शेरबहादुर देउवालाई परेको छ । कृष्णप्रसाद सिटौला समूहसँग सहकार्य गरेपछि उनलाई आफ्नै समूहमा नेताहरूको चित्त बुझाउन सकस भएको हो ।















प्रतिक्रिया