
काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भावी सभापतिको दौडबाट आफू पछि हटेको जनाउ दिएका छन् ।
काठमाडौंमा जारी १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट साझा उम्मेदवार बन्ने प्रयास असफल भएपछि पौडेलले यस्तो निर्णय गरेका हुन् । आज शनिबार बिहान उनको निवास बोहराटारमा भएको छलफलमा उनले उम्मेदवारी नदिने प्रस्ट पारेको स्रोतको भनाइ छ ।
पौडेलका लागि शेखर कोइराला र शशांक कोइरालाले समर्थन गर्ने अवस्थामा पुगे पनि प्रकाशमान सिंह तयार नभएपछि पौडेल पछि हटेको बताइएको छ । उनले आफ्नो पक्षबाट आफूलाई एकल उम्मेदवार बनाइएमात्रै अघि बढ्ने पहिल्यैदेखि बताउँदै आएका थिए ।
केही दिनअघि आफूपक्षको छलफलमा उनले सबै जना उम्मेदवार हुने भए आफूले राजनीतिबाटै सन्यास लिने चेतावनी समेत पौडेलले दिएका थिए । उनको उक्त भावनात्मक अभिव्यक्तिले नेपाली कांग्रेसभित्र छुट्टै तरङ्ग समेत पैदा गरेको थियो ।
उनले हिजो शुक्रबारकै उद्घाटन समारोहमा पनि सहभागिता नजनाउने चर्चा चलेको थियो । तर, नेताहरुको अनुरोधपछि उनी सहभागी भएको बताइएको छ ।
शनिबार बिहानको छलफलमा भने उनले आफूले राजनीतिबाट सन्यास पनि नलिने र उम्मेदवार पनि नहुने प्रस्ट पारेका छन् ।















प्रतिक्रिया