
काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज शनिबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।
पार्टीले सार्वजनिक गरेको महाधिवेशन कार्यतालिका अनुसार आज शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।
उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझका लागि आजै साँझ ५ बजेदेखि ७ बजेसम्मको समय तोकिएको छ । त्यस्तै बेलुका ७ देखि ९ बजेसम्ममा दाबी विरोधउपर निर्णय हुने छ ।
त्यसपछि राति १२ बजेसम्म उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन गर्ने र मनोनयनपत्र फिर्ता लिन चाहनेले भोलि आइतबार बिहान ११ बजेसम्म फिर्ता गरेपछि दिउँसो १२ः१५ बजे अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम छ । त्यसपछि सोमबार बिहान ८ बजेबाट नयाँ कार्यसमिति चयनका लागि मतदान हुने छ ।
भृकुटीमण्डपमा शुक्रबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र राष्ट्रियसभा गृहमा चलिरहेको छ । महाधिवेशनमा ४ हजार ७४३ जना प्रतिनिधि सहभागी छन् ।
कांग्रेसको नयाँ नेतृत्वका लागि संस्थापन र संस्थापनइतर समूह प्यानलसहित चुनावी मैदानमा उत्रने तयारी गरे पनि उम्मेदवारको टुङ्गो अझै लाग्न सकेको छैन ।
संस्थापन समूहबाट सभापतिमा शेरबहादुर देउवाले फेरि लड्ने निश्चित भए पनि अन्य पदाधिकारीबारे टुंगो लागेको छैन । त्यस्तै संस्थापतइतर समूहले भने सभापतिको साझा उम्मेदवार नै छान्न सकेको छैन ।
यद्यपि उम्मेदवार टुङ्ग्याउन वार्ता र छलफलहरू भने जारी छन् । पौडेल समूहले आज बिहान पनि छलफललाई जारी राखेको छ ।















प्रतिक्रिया