९ कार्तिक २०८३, सोमबार

शिक्षामा शिवराजको जोड : नगरका ६६ बालविकास केन्द्रलाई सिकाइ किटबक्स वितरण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चन्द्रौटा (कपिलवस्तु), २४ मंसिर । पछिल्लो समय शिवराज नगरपालिकाले शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

पूर्व प्राथमिक बालबालिकाहरूको सर्वाङ्गीण विकासमा टेवा पुर्याउन नगरले शिक्षालाई प्राथमिकतामा राखेको हो । सोही सन्दर्भमा नगरभित्र सञ्चालित ६६ विद्यालयका बालविकास केन्द्रलाई सिकाइ सामग्रीसहितको किट बक्स वितरण गरिएको छ ।

बालविकास केन्द्रमा अध्ययनरत बालबालिकाहरूलाई खेलौनासँगै सिकाइ सहजीकरणलाई प्रभावकारी बनाउन सिकाइ सामग्रीसहितको किट बक्स वितरण गरिएको हो । शिवराज नगरपालिका–५ को सभाहलमा आयोजित कार्यक्रमबीच बालविकास सहयोगी कार्यकर्तालाई किटबक्स हस्तान्तरण गरिएको शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख लोकराज पन्थीले जानकारी दिए ।

‘नगरभित्र सञ्चालित समुदायमा आधारित ६३ र मदरसा ३ गरी कूल ६६ बालविकास केन्द्रलाई सामग्री प्रदान गरेका हौं,’ शिक्षा प्रमुख पन्थीले भने । उनका अनुसार अहिले ५७ वटा बालविकास केन्द्रलाई किटबक्स प्रदान गरिएको छ । ९ वटा विद्यालयलाई यसअघि नै दिइसकिएको उनको भनाई छ ।

किटबक्समा राखिएका सिकाइ सामग्रीबाट ६५ वटा प्रोजेक्ट तयार पार्न सकिने र यसलाई १ ८० दिनसम्म सिकाइ सहजीकरण गर्न सकिने उनले बताए । यता शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले सिकाइ सामग्रीलाई सही सदुपयोग गर्न सुझाव दिएका छन् ।

उनले आफ्नो कार्यकालमा शिक्षामा आमूल परिवर्तन गर्ने अभियानमा जुटेको बताए । प्रदान गरिएको सामग्रीले साना साना बालबालिकाहरूको खेलको माध्यमबाट शैक्षिक जग बसाल्नमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

युनिसेफ नेपाल र स्थानीय सरकारको सहकार्य तथा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको प्राविधिक सहयोगमा शिवराजका सम्पूर्ण बालविकास केन्द्रलाई सामग्री प्रदान गरिएको हो । यससँगै १६ दिने टेलि सिकाइमा सहभागी भएका बालविकास सहयोगी कार्यकर्तालाई कदर पत्रले सम्मान गरिएको थियो ।