८ कार्तिक २०८३, आइतबार

मानव अधिकारको संरक्षण तथा सम्वर्द्धन गर्न सबै पक्ष जवाफदेही हुनुपर्छ : राष्ट्रपति भण्डारी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले मानव अधिकारक संरक्षण तथा संवद्र्धनका लागि राज्यका सबै क्षेत्र, सबै पक्ष जिम्मेवार र जवाफदेही हुन आवश्यक रहेको बताएकी छिन् ।

मानव अधिकारको संरक्षण, सम्वर्द्धनका विषयमा राज्य र राज्यका निकायहरू मात्र जिम्मेवार भएर नपुग्ने बताउँदै उनले सो कुरा बताएकी हुन् । सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार सुनिश्चितत गर्दै न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्नु मानव अधिकारको महत्वपूर्ण काम भएको राष्ट्रपति भण्डारीले उल्लेख गरेकी छिन् ।

७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले जनचेतनाको विस्तारद्वारा संविधान र कानुनमा भएका व्यवस्थालाई कार्यान्वयन गरी समाजबाट सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्न संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह र सामाजिक संघ संस्थाहरू क्रियाशील रहनुपर्नेमा जोड दिएकी छिन् ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसले हामी सबैलाई मानव अधिकारको मर्म तथा भावना आत्मसात् गर्ने प्रेरणा मिलोस् भन्दै भण्डारीले भनेकी छिन्, ‘मानव अधिकारको संरक्षण, संवर्द्धनका विषयमा राज्य र राज्यका निकायहरू मात्र जिम्मेवार भएर पुग्दैन । यसका लागि सबै क्षेत्र, सबै पक्ष जिम्मेवार र जवाफदेही हुन आवश्यक छ ।’

‘मानव अधिकारको अर्को महत्त्वपूर्ण विषयका रूपमा रहेको सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार सुनिश्चितत गर्दै न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्नेतर्फ सम्बद्ध निकाय अग्रसर हुनु पर्दछ भन्ने मलाई लाग्दछ,’ राष्ट्रपति कार्यालयले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

‘हाम्रो संविधानद्वारा प्रत्याभूत गरिएका मौलिक अधिकारका प्रावधानले मानवअधिकारको दायरालाई फराकिलो बनाएको छ । हाम्रो मुलुक मानव अधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताको पक्ष राष्ट्र भएको हैसियतले मानवअधिकारको संरक्षण, संवर्द्धन र परिपूर्तिसम्बन्धी दायित्वसमेत राज्यको नै हुन्छ,’ सन्देशमा भनिएको छ, ‘राज्यले ती दायित्वहरू पूरा गरे–नगरेको बारेमा निगरानी गरी उत्तरदायी बनाउने जिम्मेवारी संवैधानिक आयोगका रूपमा राष्ट्रिय मानवअधिकार आयोगलाई दिइएको छ ।’

संयुक्त राष्ट्रसंघ महासभाद्वारा सन् १९४८ डिसेम्बर १० मा मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनलाई अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको रूपमा प्रत्येक वर्ष मनाउने गरिन्छ ।

सदाझैँ यस वर्ष नेपालमा पनि विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस आज मनाइँदैछ ।