काठमाडौँ ।प्रधानमन्त्री सुशील कोइरालाले निर्धारित समयभित्रै संविधानसभाबाट संविधान निर्माण गरी सङ्क्रमणकाललाई छिटोभन्दा छिटो टुङ्ग्याउनु पर्ने बताउनुभयो ।
गणतन्त्र दिवस, २०७१ का अवसरमा विहिवार सैनिक मञ्च (टुँडिखेल) मा मूल समारोह समितिद्वारा आयोजित विशेष समारोहमा सम्बोधन गदै प्रधानमन्त्री कोइरालाले सो कुरा बताउनुभएको हो ।
उहाँले जनताका आधारभूत आवश्यकता र समस्याको सम्बोधन गर्दै युवाहरुको भविष्य सुनिश्चित गर्ने कार्यमा आम जनताको सहभागिता अभिवृद्धि गराउँदा विकासका प्रयास सार्थक हुन सक्ने बताउनुभयो ।
आर्थिक, सामाजिक समृद्धिको ढोका खोल्न नेपालीले चाहेजस्तो दिगो शान्ति कायम गरी राष्ट्र निर्माणका क्रममा चुनौतीको पार गर्नुपर्ने भएकाले राज्यका सबै निकायलाई मुलुकको स्थायित्व र सद्भावका लागि जनताप्रति उत्तरदायी बनाउन ध्यान केन्द्रित गरिने बताउनुभयो ।
उहाँले नयाँ आर्थिक वर्षको बजेट र सरकारको नीति तथा कार्यक्रम चाँडै ल्याउने जानकारी पनि दिनुभयो ।
सरकारले सय दिनमा केही महत्वपूर्ण कार्य गरेको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले संविधानसभामा २६ जना सदस्यको मनोनयन र अन्य नियुक्तिलाई राजनीतिक सहमतिका आधारमा पूरा गरिने बताउनुभयो ।
२०६५ जेठ १५ गते नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिनलाई राजतन्त्र उन्मूलन र आधुनिक नेपालको जग निर्माणको दिनका रुपमा कोइरालाले स्मरण गर्नुभयो ।
समारोहमा नेपाली सेनाले दुई वटा हेलिकोप्टरबाट पुष्पवृष्टि गर्नुका साथै गणतन्त्र दिवस, २०७१ लेखिएको व्यानर प्रदर्शन गरेको थियो ।
त्यस्तै सेनाको मार्च कवाज, प्रहरीको व्याण्ड, सशस्त्र प्रहरीको प्रदर्शन, विविध सांस्कृतिक प्रस्तुति र झाँकी प्रदर्शन गरिएका थिए ।
समारोहमा राष्ट्रपति,उपराष्ट्रपति, प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष, प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।













प्रतिक्रिया