
काठमाडौं, २३ मंसिर । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन भोलि शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू हुँदै छ ।
महाधिवेशनमा भाग लिने ४ हजार ७ सय जना भन्दा बढी प्रतिनिधिमध्ये ४ हजार ३१९ जनाको नाम निर्वाचन समितिले सार्वजनिक गरिसकेको छ ।
नेतृत्वका लागि आगामी शनिबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । महाधिवेशन व्यवस्थित तरिकाले सम्पन्न गर्न गठित विभिन्न उपसमिति आ–आफ्नो जिम्मेवारीका साथ कार्य गर्दै छन् ।
शीर्ष नेताहरु नेतृत्व दाबी गर्दै प्यानल निर्माणको गृहकार्यमा छन् । गुट–उपगुटमा रहे पनि प्यानलमा पर्ने रणनीतिका साथ नेताहरुको विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।
महाधिवेशनको अन्तिम तयारीमा रहेकाले देशभरबाट कांग्रेस नेताहरु राजधानी आउने क्रम जारी छ । नीतिभन्दा पनि बढी नेतृत्वमा जोड दिँदै आएका कांग्रेसका शीर्ष नेताहरुको बुधबार दिनभरको दौडधूप नेतृत्वकै विषयमा केन्द्रित रह्यो ।
गुट–उपगुटमा विभाजित कांग्रेस नेताहरु महाधिवेशनमा कसरी जित्ने भन्ने ध्याउन्नमै दौडधूप गरिरहेका छन् ।
केन्द्रीय कार्यसमितिको अन्तिम बैठक आज
यसैबीच भोलिदेखि शुरू हुने १४औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजै बोलाइएको छ । बैठक बिहान साढे ११ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई बोलाइएको नेपाली कांग्रेसले जनाएको छ ।
महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएकाले वर्तमान केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठक समेत हुने छ ।















प्रतिक्रिया