
काठमाडौं, २१ मंसिर । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले कोभिड–१९ को नयाँ भेरियन्टका संक्रमित बढ्दै गए भने लकडाउनसम्मको उपाय अपनाउन बाध्य हुने बताएका छन् ।
नेपालमा ओमिक्रोन भेरियन्टका दुईजना सङ्क्रमित फेला परेसँगै उपत्यकामा सम्भावित प्रतिबन्धात्मक कदमलाई लिएर सर्वसाधारणले चासो व्यक्त गरिरहेका बेला उनले सो कुरा बताएका हुन् । यद्यपि, महामारी रोकथामका अन्य विकल्पहरूको प्रयोगविनै लकडाउन नहुने उनले स्पष्ट पारेका छन् ।
उपत्यकामा ओमिक्रोनका संक्रमित भेटिनुलाई गम्भीर रुपमा लिएका प्रजिअ रिजाल भन्छन्, ‘जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठक बसेर हाम्रो तर्फबाट गर्नुपर्ने पूर्वतयारी र पूर्वसावधानीका उपाय के कस्ता हुनसक्छन् भन्नेबारेमा निचोड निकालिने छ ।’ त्यसको निर्णयअनुसार आफूहरू अगाडि बढ्ने उनको भनाइ छ । साथै ललितपुर र भक्तपुरका जिल्ला प्रशासनहरूसँग पनि छलफल गरिने उनले बताए ।
ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्तिमा सङ्क्रमण भेटिएको सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको थियो । त्यसपछि लकडाउनलगायत विभिन्न विषयका बारेमा सर्वसाधारणमा चासो र चिन्ता बढ्दै गएको छ ।
दक्षिण अफ्रिकामा पहिलोपटक फेला परेको ओमिक्रोन भेरियन्ट अहिलेसम्म भारतसहित ४० वटा भन्दा बढी देशमा फैलिसकेको छ ।















प्रतिक्रिया