
काठमाडौं, २१ मंसिर । मङ्सिर २४ गतेदेखि सातै प्रदेशमा ‘सप्तरङ्ग–३’ हुने भएको छ ।
सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘सप्तरङ्ग–३’ हुने जानकारी गराएको हो । गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरङ्ग’ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने छ ।
सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाईलाई जनमानसमा कलामार्फत प्रष्ट्याउनुनै ‘सप्तरङ्ग’को मूल आशय रहेको बताइएको छ । पहिलो र दोस्रो संस्करण सद्भाव र ऐक्यवद्धतामा केन्द्रित भएको थियो ।
कला संस्कृतिलाई उजागर गर्दै २४ मङ्सिरदेखि काँकडभिट्टाबाट शुरू हुने ‘सप्तरङ्ग–३’ पुस ९ गते पोखरामा गएर अन्त्य हुने छ । काँकडभिट्टा लगत्तै मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ गते सुर्खेत, ५ गते धनगढी र पुस ९ गते पोखरा पुगेर समापन हुने छ ।
‘सप्तरङ्ग–३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह , हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीलगायत कलाकारहरू सहभागी हुने छन् ।

विगत पाँच वर्षदेखि निरन्तर रूपमा गृष्मा ब्रोडकाष्टिङले मनोरञ्जनको क्षेत्रमा आफ्नो मौलिक कार्यक्रमहरूमार्फत सिङ्गो देश र विदेशमा रही आएका आप्रवासी नेपालीहरूलाई एउटै साझा सागिंतिक धागोमा गाँस्दै आएको छ । नेपाल र नेपालीलाई चिनाऔँ र सारा विश्वमा फैलिएका नेपालीहरूले आफ्नो देशको प्रतिनिधित्व गर्दै जाति, धर्म, भाषा र भेसभुषालाई विश्व सामु आफै चिनाउनेछन् भन्ने मूल हेतुलाई आत्मसाथ गरी नेपाल चार जात छत्तिस वर्णको साझा फूलबारी हो भन्ने भनाईलाई प्रस्ट्याएको छ ।
पहिलो र दोस्रो संस्करणले सात प्रदेश बिचको आम जनताको सम्बन्ध सुमधुर बनाउन प्रभावकारी भएको थियो । यो संस्करणले सातै प्रदेशमा साङ्गीतिक यात्राको माध्यमबाट स्वास्थ्य र संवृद्धि को नारा लाई प्रवर्द्धन गरिने छ । यसै गरी कार्यक्रमको होस्ट निता प्रधान, विवेक खतिवडा र नरेश भट्टराईले गर्ने छन् ।















प्रतिक्रिया