
काठमाडौं, १६ मंसिर । बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएका छन् ।
यस प्रदेशमा १८ लाख ७२ हजार ७०७ नागरिकलाई पूर्ण खोप दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार छ लाख एक हजार ९१३ जनाले पहिलो मात्रा खोप लगाएको र दोस्रो मात्रा लगाउने बाँकी रहेको छ ।
पछिल्ला दिनमा खोप लगाउने क्रम बढेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए । प्रदेशमा अहिले पनि ७ लाख ८३ हजार ३१ जनाले खोप लगाउन बाँकी रहेको बताइएको छ । कोरोना सङ्क्रमणविरुद्ध कोभिशिल्ड, भेरोसेल, एस्ट्राजोनिक र जोन्सन एण्ड जोन्सन खोप लगाइएको छ ।
यसैबीच मकवानपुर जिल्लामा कोरोनाविरुद्धको खोप पर्याप्त मात्रामा रहेको जनस्वास्थ्य कार्यालयले मकवानपुरले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा ५९ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएको छ । तीमध्ये सबैभन्दा बढी हेटौंंडा उप–महानगरपालिकामा ८८ प्रतिशत रहेका छन् ।
ग्रामीण तथा दुर्गम पहाडी क्षेत्रमा २४ देखि ३० प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लामा ५९ प्रतिशतले एक पटक र ५१ प्रतिशतले पूर्ण खोप लगाएको कार्यालयले जनाएको छ ।
जिल्लामा १८ वर्षमाथिका तीन लाख चार हजार ६४७ जनसङ्ख्या रहेको र चालु आर्थिक वर्षमा सबैलाई कोरोनाविरुद्धको खोप दिने लक्ष्य रहेको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । रासस















प्रतिक्रिया