
काठमाडौं, १६ मंसिर । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले पार्टी अध्यक्षमा पराजित भएका डा. भीम रावललाई अब वडा कमिटीको सदस्य बन्न जाने हो त ? भन्दै प्रश्न गरेका छन् ।
पदाधिकारीमा पराजित भए पनि पार्टी केन्द्रीय कमिटीमा रहन सक्ने पार्टीको प्रबन्धलाई अस्वीकार गरेको तथा निर्वाचितहरूले सपथ ग्रहण गरिरहँदा रावलले आशनमै बसिरहेको घटनाप्रति व्यङ्ग्य गर्दै थापाले रावलमाथि त्यस्तो टिप्पणी गरेका हुन् ।
हिजो बुधबार फेसबुकमा ‘नेतृत्वको सपथग्रहण, रावलको आसनग्रहण !’ शीर्षक दिएर लामो स्टाटस लेख्दै थापाले रावलमाथि कडा व्यङ्ग्यात्मक टिप्प्णी गरेका हुन् ।
यस्तो छ रावलमाथि थापाको टिप्पणी–
नेतृत्वको सपथग्रहण, रावलको आसनग्रहण !
२०६५ सालमा बुटवलमा रावलजीले उपाध्यक्षमा चुनाव हार्नुभयो र केन्द्रीय सदस्यमा जित्नुभयो ।
तर, केन्द्रीय सदस्यको सपथ तबसम्म लिनुभएन, जबसम्म उहाँ मन्त्री बन्ने निश्चित भएन । २०६६ मा गृहमन्त्रीको सपथ लिने सुनिश्चित भएपछि तत्कालीन अध्यक्ष झलनाथ खनालले अघिल्लो दिनमात्रै हतारहतार उहाँलाई केन्द्रीय सदस्यको सपथ गराउनुभएको झल्झली संझना भइरहेछ । म पनि त्यो समारोहमा उपस्थित थिएँ ।
बुढापाकाले बाह्र बर्षमा खोलो फर्किन्छ भन्थे, हो रहेछ !
मंसिर १४ गते बेलुका दशौं महाधिवेशनबाट निर्वाचित नेतृत्वले सपथग्रहण गरिरहँदा रावलजी आसनग्रहणमा मग्न थिए । जबकि उनलाई महाधिवेशन प्रतिनिधिहरूले केन्द्रीय सदस्यमा निर्वाचित नै गरेका थिए र महाधिवेशनको सर्वोच्चतालाई स्वीकारेर उनले सपथ लिनुपर्दथ्यो । उनले सपथ लिएनन् । हामी देख्नेलाई लाज भो ! संयोगले यसपटक पनि उहाँको आसनग्रहणलाई मैले पछाडि उभिएर सपथ लिंदै हेरिरहें !
बन्दसत्रको सर्वसम्मतिले अध्यक्षमण्डलका अध्यक्षलाई सहमतिको नेतृत्व प्रस्ताव गर्ने जिम्मेवारी दिएअनुरूप नै ३०१ जनाकै नामावली त प्रस्ताव गरिएको नै थियो । केवल अध्यक्षको उम्मेदवार भएर २२३ भोट पाएको देखाउन पार्टीको ३ करोड खर्च गराउने र महाधिवेशन दुई दिन लम्ब्याएर प्रतिनिधिहरूलाई अनाहकमा दुःख दिने साहसी व्यक्तित्व न पर्नुभयो, रावलजी !
तर पहिले गृहमन्त्री बन्न सपथ लिएको आफ्नै बहुचर्चित नजीरविपरित अहिले के जात्रा गरेको होला यस्तो ?
पदाधिकारी हारे पनि केन्द्रीय कमिटीमा रहनसक्ने पार्टीको प्रबन्धलाई अस्वीकार गर्नु भनेको हदैसम्मको अराजकता हो । मान्छेको बुद्धि र विवेकको ठाउँ पूर्वाग्रह, प्रतिशोध र स्वार्थले भरिभराउ भएपछि यस्तै त हुँदोरहेछ !
उपाध्यक्ष प्रस्ताव गर्दा अस्वीकार, केन्द्रीय सदस्यको सपथग्रहण गर्नुको साटो आसनग्रहण र अध्यक्षमा पराजय भएपछि रावलजी अब पाँच वर्ष अछाम जिल्ला भागेश्वर कालाआम वडा कमिटीको सदस्य नै बन्न जाने हो त ?















प्रतिक्रिया