३ कार्तिक २०८३, मंगलबार

जेलमा बसेर दोषमुक्त भएका मानिससँग अमेरिकी लेखिकाले किन मागिन् माफी ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, १५ मंसिर । अमेरिकी लेखिका एलिस सेबोल्डले आफूलाई सन् १९८१ मा बलात्कार गरेको आरोपमा गलत तरिकाले दोषी ठहर गरिएका मानिससँग माफी मागेकी छन् ।

त्यसरी गलत रूपबाट दोषी ठहर भएर १६ वर्ष जेल सजाय बिताएका एन्थोनी ब्रोडवाटरलाई गत सातामात्रै दोषमुक्त गरिएको थियो ।

एलिसले आफ्नो संस्मरणात्मक पुस्तक लक्कीमा आफूमाथि बलात्कार भएको घटना उल्लेख गरेकी छन् ।

उनले पुस्तकमा बलात्कारपछि गल्लीमा एकजना अश्वेत मानिस देखेको र आफूमाथि हमला गर्ने व्यक्ति तिनै भएको ठानेको बताएकी छन् ।

त्यसपछि एन्थोनी ब्रोडवाटरलाई पक्राउ गरिएको थियो र उनलाई दोषी पाइएको भनेर जेलमा हालिएको थियो ।

आफ्ना वकिलहरूमार्फत एउटा विज्ञप्ति जारी गर्दै ब्रोडवाटरले भनेका छन् ‘उनले माफी मागेकोमा राहत’ मिलेको छ ।

सेबोल्डले माफी माग्दै विज्ञप्तिमा भनेकी छन्, ‘तपाईँले जस्तो खालको जीवन जिउन सक्नु हुन्थ्यो त्यो तपाईँबाट अन्यायपूर्ण रूपमा छिनिएकोमा म माफी माग्छु, र मलाई थाहा छ तपाईँमाथि जे भयो त्यो कुनै पनि माफीले कहिल्यै परिवर्तन गर्नसक्दैन ।’

उनको पुस्तकमा आफू १८ वर्ष हुँदा न्यू योर्कस्थित सिराक्युज विश्वविद्यालयमा पढ्दा उनीमाथि कसरी हमला भएको थियो भन्ने विस्तृतमा लेखेकी छन् ।

महिनौँपछि, उनले प्रहरीलाई त्यसबारे जानकारी दिएकी थिइन् । उनले आफूलाई जसले हमला गरेको ठानेको त्यो व्यक्तिलाई गल्लीमा देखेकोबारे प्रहरीलाई सचेत गराएकी थिइन् ।

त्यसपछि उक्त क्षेत्रमा त्यतिबेला अधिकृत रहेका प्रहरीले ब्रोडवाटरलाई गिरफ्तार गरेका थिए । ब्रोडवाटरमाथि त्यसपछि सुनुवाइ भयो र सेबोल्डले दिएको बयान र कपालको सूक्ष्म विश्लेषणका आधारमा दोषी ठहर गरिएको थियो ।

सन् १९९८ मा जेलबाट बाहिरिए पनि उनको नाम यौन अपराधीका रुपमा दर्ता भएर रहिरह्यो । उक्त मुद्दामाथि पुनः परीक्षण गरिँदा उनी नोभेम्बर २२ मा दोषमुक्त ठहर गरिएका हुन् ।

यसअघि अपर्याप्त प्रमाणका आधारमा दोषी ठहर गरिएको भन्दै अहिले आएर उनलाई दोषमुक्त गरिएको हो । समाचार सुनेपछि उनले समाचार संस्था एपीसँग बोल्दै आफू हर्ष र राहतको आँशु खसिरहेको बताएका थिए ।

सेबोल्टले आफ्नो विज्ञप्तिमा आफूले विगत आठ दिनमा कसरी यो सबै हुनसक्यो भनेर बुझ्ने प्रयास गरिरहेको बताइन् । बीबीसी