९ कार्तिक २०८३, सोमबार

सम्झौता अनुसारको सेवासुविधा नदिने कम्पनीलाई कालो सूचीमा राखिन्छ : मन्त्री श्रेष्ठ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा गएका नेपालीलाई सम्झौता अनुसारका सेवासुविधा नदिने कम्पनीहरूलाई कालोसूचीमा राखिने बताएका छन् ।

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुसँग वैदेशिक रोजगारी र पुनः एकीकरणबारे मन्त्रालयमा आज भएको छलफलमा मन्त्री श्रेष्ठले सम्झौता अनुसार सेवासुविधा नदिने कम्पनीहरुलाई कालोसूचीमा राखिने र अब उप्रान्त त्यस्ता कम्पनीहरुमा कामदार नपठाइने समेत बताएका हुन् ।

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूले कोरोना महामारीका कारण रोजगारी गुमाएर फर्कंदा बाँकी पारिश्रमिक समेत नपाएको गुनासो गरेका थिए । उनीहरूले सम्झौता अनुसार काम र पारिश्रमिक नपाएको, विरामी हुँदा उपचार नपाएको तथा नेपाल फर्कंनुपर्दा चन्दा सङ्कलन गर्नुपरेको बताएका थिए ।

मन्त्रालयमा भएको छलफल कार्यक्रम

साथै उनीहरूले हातमा शीप नहुँदा विदेशी भूमीमा अनेकन दुःख पाएको र अन्य देशका श्रमिकसरह सुविधा नपाएको समेत गुनासो गरेका छन् । गैरकानुनी बाटोबाट गएका घरेलु कामदारहरूले न्यून तलवमा काम गर्नुपरेको तथा हिंसाको शिकार भएको गुनासो उनीहरूको छ ।

कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका साथै आप्रवासी कामदारको पक्षमा काम गरिरहेका संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता थियो । कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्किने श्रमिकलाई पुनर्मिलन, सामाजिक तथा आर्थिक सशक्तिकरण गर्दै अगाडि बढाउने सरकारको योजना रहेको बताए ।