
काठमाडौँ, १२ मंसिर । कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट ओमिक्रोन विभिन्न १० मुलुकमा फैलिएको छ ।
हालसम्म विश्वका १० मुलुकमा ओमिक्रोन फैलिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ओमिक्रोनलाई ‘चिन्ताको विषय’ भनिसकेको छ । तर ओमिक्रोन कति संक्रामक छ र विद्यमान खोप एवं उपचार विधिले यसविरुद्ध काम गर्ने वा नगर्ने भनेर पुष्टि गर्न अझै केही हप्ता लाग्ने संगठनको भनाइ छ ।
कुन–कुन मुलुकमा फैलियो यो नयाँ भेरियन्ट ?
विभिन्न सञ्चार माध्यमहरुले जनाए अनुसार हालसम्म १० वटा मुलुकमा ओमिक्रोन भेरियन्ट फेला परेका छन् ।
१. अष्ट्रेलिया
अष्ट्रेलियामा दुई जनामा ओमिक्रोन प्रमाणित भएको स्वास्थ्य विभागले जनाएको छ । उनीहरु दुवै जना कतार एअरवेजबाट दोहा हुँदै सिड्नी पुगेका थिए ।
२. इटली
इटलीमा पनि मोजाम्बिकबाट फर्किएका एक व्यक्तिमा ओमिक्रोन पोजेटिभ देखिएको त्यहाँको सञ्चारमाध्यमा लाप्रेसेले जनाएको छ । त्यहाँ दुई बालबालिकासहित ५ जनामा संक्रमण देखिएको बताइएको छ ।
३. जर्मनी
जर्मनीमा नोभेम्बर २४ गते दक्षिण अफ्रिकाबाट फर्केका दुई जना यात्रुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जर्मन समाचार माध्यम डीपीएले जनाएको छ ।
४. नेदरल्याण्ड
नेदरल्याण्डमा पनि ओमिक्रोन भेरियन्ट फेला परेको हुनसक्ने त्यहाँका स्वास्थ्य अधिकारीहरुले विश्वास गरेका छन् ।
५. बेलायत
बेलायतमा पनि अफ्रिकी क्षेत्रका यात्रा गरेर फर्केका २ जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।
६. इजरायल
इजरायलमा पनि नयाँ भेरियन्ट पुष्टि भएपछि आपतकालीन सतर्कता अपनाइएको छ ।
७. हङकङ
दक्षिण अफ्रिकापछि ओमिक्रोन भेरियन्ट फेला पर्ने दोस्रो मुलुक हङकङ हो । पछिल्लो विवरणअनुसार त्यहाँ दुई जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको छ ।
८. बोत्स्वाना
दक्षिण अफ्रिकी मुलुक बोत्स्वानामा हालसम्म नयाँ भेरियन्टबाट एकजना संक्रमित भएका छन् ।
९. बेल्जियम
युरोपमा पहिलो ओमिक्रोन पुष्टि भएको जानकारी बेल्जियमले दिएको थियो ।
१०. चेक गणतन्त्र
चेक गणतन्त्रमा पनि एक महिलामा नयाँ भेरियन्ट ओमिक्रोन प्रमाणित भएको उल्लेख छ ।
हालसम्म भारतमा भने ओमिक्रोन प्रमाणित भएको छैन । –एजेन्सी












प्रतिक्रिया