३ कार्तिक २०८३, मंगलबार

‘अति सङ्क्रामक’ भेरिअन्टका कारण यूकेको छ देशसँग हवाई उडान निलम्बित

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १० मंसिर । अति सङ्क्रामक मानिएको कोरोनाभाइरसको नयाँ भेरिअन्टका कारण यूकेले छ देशसँगको हवाई उडान निलम्बन गरेको छ ।

यूकेका स्वास्थ्यमन्त्री शाजिद जावेदले शुक्रवार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई रातो सूचीमा राखिने र त्यहाँबाट आउने यात्रुले क्वारन्टीनमा बस्नुपर्ने बताएका छन् ।

उक्त भेरिअन्टलाई हामीले अहिलेसम्म देखेको सबैभन्दा खराब भनेका छन् र यो भेरिअन्टले अहिले खोपका कारण आएको प्रतिरोधी क्षमतालाई तोड्नसक्ने भन्दै चिन्ता व्यक्त भएका छन् ।

सो भेरिअन्ट अहिलेसम्म दक्षिण अफ्रिका, हङकङ र बोत्स्वाना गरी ५९ जनामा मात्रै पुष्टि भएको छ । यूकेले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो र इस्वाटीटीसँगका सबै उडान स्थगित गरेको छ ।

जावेदले वैज्ञानिकहरू नयाँ भेरिअन्टका कारण चिन्तित भएको बताउँदै यसबारे थप अध्ययन आवश्यक रहेको बताए । उनले नयाँ भेरिअन्टमा धेरै उत्परिवर्तन भएको र त्यो सङ्ख्या डेल्टा भेरिअन्टमा भन्दा दोबर हुनसक्ने बताए ।

उनले, ‘यसले के सङ्केत गर्छ भने यो भेरिअन्ट बढी सङ्क्रामक छ र अहिलेका खोपहरूको यसमाथि कमै असर हुनसक्छ ।’

उनले ती छ देशहरूलाई रातो सूचीमा राख्नुको कारण सावधानी र आफ्नो सीमाको सकेसम्म सुरक्षा गर्नु रहेको बताएका छन् ।

शुक्रवार मध्याह्नदेखि विगत १० दिनभित्र ती देश भ्रमण गरेका विदेशी र आयरल्यान्डका नागरिकहरूलाई इङ्गल्यान्ड प्रवेश निषेध गरिएको छ ।

ती देशबाट आउने ब्रिटिश नागरिकहरू आइतवारदेखि होटेलमा क्वारन्टीनमा बस्नुपर्ने र त्यसअघि घरमै एकान्तवासमा बस्नुपर्ने बताइएको छ ।

होटेल क्वारन्टीन प्रणाली स्थापित नभएसम्म ती देशसँग निलम्बित उडान नियमित नहुने बनाइएको छ । दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ भेरिअन्ट तीव्र रूपमा फैलिरहेको पत्ता लागेको हो ।

पहिलाका उत्परिवर्तनभन्दा यो पछिल्लो उत्परिवर्तन थप घातक हो कि होइन भन्ने स्पष्ट भइसकेको छैन । विश्व स्वास्थ्य सङ्गठनका विज्ञहरू यसबारे दक्षिण अफ्रिकी अधिकारीहरूसँग छलफल गर्नका लागि शुक्रवार उनीहरूसँग भेट्दै छन् ।

बीबीसी संवाददाता जेम्स ग्यालहरले अहिलेसम्म भएका भाइरसका उत्परिवर्तनमध्ये यो पछिल्लो उत्परिवर्तन सबैभन्दा अत्यधिक सङ्क्रामक भएको बताएका छन् ।

उनले भाइरसमा उत्परिवर्तन भएको सूची लामो भएका कारण एकजना वैज्ञानिकले यसलाई भयानक भनेर व्याख्या गरेको बताए । अर्का वैज्ञानिकले चाहिँ यो भेरिअन्ट आफूहरूले देखेकोमध्ये खराब भएको बताएका छन् ।

नयाँ भेरिअन्ट देखिएको अवस्था अहिले सुरुकै चरणमा रहेको र अहिलेसम्म धेरै बिरामीहरू दक्षिण अफ्रिकाको एउटा प्रान्तमा केन्द्रित रहेको बताइएको छ । तर यसको सङ्क्रमण थप क्षेत्रमा फैलिएका सङ्केतहरू पनि छन् । बीबीसी